गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्ना स्वकीयसचिव विरु तामाङलाई पदबाट हटाएका छन् । आफूसँग रहेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वर्षमान पुनका लागि काम गरेको आरोप लगाउँदै उनले तामाङलाई हटाएका हुन् ।
उनी पूर्वमाओवादी लडाकूसमेत हुन् । गृहमन्त्री थापाको सचिवालयमा अधिकृतस्तरको नियुक्तिमा उनी सुरुवाती समयदेखि नै कार्यरत् थिए । गृहमन्त्रीनिकट स्रोतले भन्यो, “हाम्रो समूहमा रहेर उनले युवामा भाँडभैलो गरे । प्रचण्ड र वर्षमानका लागि काम गर्न लागेको सूचना पाएपछि हटाइएको हो ।”
‘तपाईं मेरो स्वकीय सचिवालयअन्तर्गत स्वकीय अधिकृत पदमा कार्यरत गरिरहनुभएको (रहिरहनुभएकोमा) मिति २०७७/१०/३० गतेदेखि लागू हुने गरी उक्त जिम्मेवारीबाट मुक्त गरिएको व्यहोरा जानकारी तपाईंलाई गराइन्छ । साथै तपाईंले काम र कर्तव्य सम्पादन गर्नुभएकोमा धन्यवाद छ,’ मन्त्री थापाले तामाङलाई थमाएको पत्रमा भनिएको छ ।