काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई चुनौति दिदै लड्डु खाने मन भए प्रधानमन्त्री पदबाट हटाएर देखाउन भनेका छन् । ओलीले आज झापास्थित आफ्नै निर्वाचन क्षेत्रमा औद्योगिक पार्कको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
उनले पहिलो पटक प्रधानमन्त्री बन्दा आफूलाई अविश्वास प्रस्तावबाटै हटाइएको बताउँदै यो पटक त्यसैगरी हटाउन सक्ने भए हटाउ भन्दै चुनौती दिएका हुन्।
‘मैले पहिलो पटक प्रधानमन्त्रीबाट राजीनामा दिँदै गर्दा भनेको थिएँ, ‘समय अन्त्य भएको छैन।’ हामी यहीँ छौँ भन्ने नबिर्सु, ओलीले भने, ‘लड्डु खानेहरूलाई भन्न चाहन्छु हामी यहीँ छौँ भन्ने नबिर्स। ’
ओलीले आफूले जिन्दगीमा कयौँ मुद्दा हारेको जिवनमा प्रतिनिधिसभा विघटनको मुद्दा हार्नु कुनै ठुलो कुरा नभएको बताए । ‘मत जिन्दगीमा मुद्दा हार्दै आएको मान्छे हो, उहिले पनि मुद्दा हारेकै हो। गल्ती नगर्ने, मुद्दा हार्ने, गल्ती नगर्ने, मुद्दा हार्ने कुरा निरन्तर भोगेकै हो’, ओलीले भने, ‘कसैले मुद्दा जिताइदिएर म प्रधानमन्त्री भएको होइन। मलाई तीन करोड नेपाली जनताले प्रधानमन्त्री बनाइदिएको हो। मेरो टाउकोमाथि तपाईंहरुको आशीर्वाद छ।’
झापामा ओली प्रतिनिधिसभा पुनःस्थापनामा आफु सकरात्मक रहेको कुरा व्यत्त गरेका छन् । उनले भने ‘प्रतिनिधिसभा पुनःस्थापना भयो, राम्रै भयो’, उनले भने, प्रतिनिधिसभा पुनःस्थापना भएपछि लड्डु खानेहरू चितवनको सभा छाडेर काठमाडौं आए। उनीहरुको घर त दक्षिणतिर छ तर उत्तरको बूढानीलकण्ठतिर लागे। उनीहरुले त्यहाँ सुतिरहेका भन्दा उठिरहेका बूढानीलकण्ठकहाँ निवेदन हाले।’
उनले दाहाल–नेपाललाई देउवाकहाँ पुगेर गुहार मागेको समेत बताए । उनले आफुहरु आफैलाई प्रधानमन्त्रीको लायक नभएर प्रधानमन्त्री स्वीकारिदिनुपर्यो भन्दै देउवाकहाँ पुगेको समेत आरोप लगाएका हुन् । ‘प्रभु ! प्रधानमन्त्री स्वीकार गरिदिनुपर्यो। विभिन्न थरी नन्दीभृंगी मिलेर सरकार बनाऊँ। देशको विकास रोक्नका लागि केपी ओलीलाई हटाउनै पर्यो भनेछन, उनले भने, ‘तर उठेका बूढानीलकण्ठले पख्नु म विचार गर्छु भनेपछि अँध्यारो मुख लगाएर फर्किएछन्।’
ओलीले सोही कार्यक्रममा जनता समाजवादी पार्टीका नेतासँगको भेटको प्रसंग पनि उठाउँदै भने ‘लड्डु खानेहरूले बूढानीलकण्ठबाट अर्को ठाउँमा गएर मिलेर सरकार बनाऊँ भनेपछि तपाईंहरुको पार्टी कुन हो? भनेर सोधिएछ। त्यसपछि झसंग भएछन् साथीहरु’, उनले भने, ‘संसद पुनः स्थापना भए पनि पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री त म नै हो। साथीहरुले प्रधानमन्त्री पदका लागि मसँग हात थाप्न थाल्नु भएको छ।’
ओलीले आफूलाई हटाएर देखाउन पनि पटक पटक चुनौती दिए। ‘प्रधानमन्त्री दिनुस् भनेर हिँड्नेहरूले केपी ओलीलाई हटाएर देखाउनुस्। अविश्वासको प्रस्ताव राखेर देखाउनुस्, उनले भने, ‘हटाउन सक्नु भएछ भने तीन करोड नेपाली जनताबाट दुईतिहाइ ल्याएर देखाइदिन्छु। चिन्ता गर्नु पर्ने अवस्था होइन।’
उनले लोकतन्त्रलाई तलमाथि गर्न नदिइने पनि तर्क गरे। ओलीले संविधान समयानुसार परिमार्जन हुने बताउँदै संविधानको मर्म र भावनालाई तलमाथि पर्न नदिने पनि वाचा गरे।