सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

बादल सहित तीन ‘माओवादी’ मन्त्रीहरु बाहिरिँदै

शनिबार, फाल्गुन ८ २०७७

काठमाडौँ- जनवर्गीय संगठनहरुमा एकपछि अर्को उत्पन्‍न भएको विवाद समाधानमा मत बाझिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका तीन पूर्वमाओवादी पृष्ठभूमिका मन्त्रीहरु सरकारबाट बाहिरिने अड्कलबाजी सुरु भएको छ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई त्यागी ओली कित्तामा प्रवेश गरेको दुई महिना नपुग्दै रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट र टोपबहादुर रायमाझी मन्त्रिपरिषद्‌बाट हट्ने संकेत देखिएको हो।

पछिल्लो समय,प्रधानमन्त्री केपी शर्मा ओली र रामबहादुर थापा ‘बादल’ बिच एकपछि अर्को उत्पन्‍न भएको विवाद समाधानमा मत बाझिदै आएको छ । बादल निकट समूहको प्रमुख माग नै ४० प्रतिशतको साझेदारी हो । उनीहरूले कमिटी कुन संख्याको बनाउने हो सोहीअनुसार पदाधिकारीको माग र अडान राख्दै आएका थिए । तर उक्त माग र अडानलाई अर्को पक्षले बालमतलब गरेको देखिएन । उनीहरूले इञ्चार्ज एउटाको भए सहसचिव अर्कैको राख्नुपर्ने बताएका थिए ।

त्यसलगत्तै ओलीले माओवादी पृष्ठभूमिका रायमाझी, मणीचन्द्र थापा, प्रभु शाह, गौरीशंकर चौधरीलाई मन्त्री बनाएका थिए। विवाद चुलिएपछि रायमाझीसँगै भट्ट र बादलबीच ओलीको दूरी बढ्दै गएको स्रोतले बतायो। तर मणिचन्द्र थापा, शाह र चौधरी भने ओलीलाई नछाड्नेमा दृढ रहेको बुझिएको छ।

ओली पक्षले एकलौटी नियन्त्रण गरेको र पूर् माओवादी समूहलाई कुनै स्थान नदिएको भन्दै विवाद बढेको हो। स्रोतले भन्यो,‘जनवर्गीय संगठनमा उत्पन्न विवाद समाधान हुने सम्भावना निकै न्यून छ। विवाद समाधान नभए बादल, भट्ट र रायमाझी सरकारबाट बाहिरिने सम्भावना देखिएको छ। तर दुई पक्षीय छलफल भने भइरहेको छ।’