सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

ओलीको शक्ति पर्दशनले नेकपा सुदूरपश्चिम डुब्यो ऋणमा

शुक्रबार, फाल्गुन ७ २०७७

धनगढी। २४ पुसमा सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भब्य आमसभा गर्यो ।

आमसभामा सुदूरपश्चिमबाट संघीय सरकारमा रहेका चारै जना मन्त्रीहरुको पनि उपस्थिति रह्यो । प्रधानमन्त्री केपी शर्मा ओली विहान आए । आमसभालाई सम्वोधन गरेर साँझ फर्किए ।

तर आमसभाको अघिल्लो दिन काठमाण्डौबाट धनगढी पुगेका मन्त्रीगणहरु २ रात धनगढीमै बसे ।

श्राेतका अनुसार,  आयोजकले मन्त्रीहरुको बसोबासको व्यवस्था धनगढीको आलिसान होटल रुबसमा गरेको थियो ।

उद्योगमन्त्री लेखराज भट्ट वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले र श्रममन्त्री गौरी शंकर चौधरीको धनगढीमा निजी निवास भएकाले दिनभरी होटल रुबसमा कार्यकर्ता भेटघाट गरेर साँझ आ आफ्ना निवासमा गए । तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना भने दुई रात होटलमै बसे ।

२३ पुसमा धनगढी पुगेका मन्त्री ठगुन्ना २०७७ पुस  २५ गतेमात्र काठमाण्डौ फर्किए । यी चार जना मन्त्रीको रुबस होटलको बिल जम्मा साढे आठ लाख रुपैया भयो । त्यसमा सबैभन्दा बढी बिल मन्त्री गणेश ठगुन्नाको टिमको देखियो ।

मन्त्री ठगुन्नाको टिमले २ दिनमा आवास र रमझममा गरी चार लाख रुपैयाको बिल उठाएको रहेछ – आमसभाका आयोजक नेकपाका एक जना नेताले बताए । होटल रुबसका म्यानेजरले बिल तिर्न तारन्तार फोन गरेर हैरान पारेको ती नेताले दुखेसो पोखे ।

मन्त्री जस्तो व्यक्तिले आफ्नो खाएको बिल त तिरेर जानु पर्ने हो । एक रुपैयाँ पनि नतिरी मन्त्री  ठगुन्ना टिम सहित काठमाण्डौं फर्किदा आफूहरुलाई हैरानी खेप्नु परेको ती नेताले गुनासाे  गरे ।

नेकपा सुदूरपश्चिमले होटल रुबसलाई करिब ५ लाख रुपैयाँ तिर्न बाँकी रहेको बताएको छ । प्रधानमन्त्रीले सम्बोधन गरेको २४ पुसको धनगढी आमसभामा पार्टीलाई ठूलो ऋण लागेको नेकपा सुदूरपश्चिमका एक जना नेताले भने ।

पार्टी निकट उद्योगी व्यवसायीहरुले गरेको आर्थिक सहयोगले खर्च नपुग्दा आमसभामा लागेको ऋण कसरी तिर्ने भन्ने विषयले प्रदेश कमिटीका नेताहरु हैरान छन् ।

उता मन्त्री गणेश ठगुन्ना भने आफू र आफ्नो टिमको मोजमस्तीमा ४ लाख रुपैयाँ पार्टीलाई ऋण बोकाएकोमा नेकपा सुदूरपश्चिमका नेता कार्यकर्ताले चर्को आलोचना गरेकाे खबर प्राप्त भएकाे छ ।