बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

सहपाठी नै बलात्कारी र हत्यारा

बुधबार, फाल्गुन ५ २०७७

बैतडीकी भागरथी भट्टको हत्यामा उनकै छिमेकी तथा विद्यालयका सहपाठी रहेको खुलेको छ । अभियुक्त युवक भागरथी अध्ययन गर्दै आएको सनातन धर्म उच्च माविमा कक्षा ११ मा अध्ययनरत हुन् ।

दिनेश भट्ट नाम गरेका युवक किशोरावस्थाका छन् । उनले प्रहरी समक्ष बलात्कारपछि हत्या स्वीकार गरेका छन् । प्रहरीले उनलाई आज सार्वजनिक गर्ने पुष्टि गरेको छ ।

दिनेशले भागरथीलाई भीरमा लडाएर बलात्कारपछि हत्या गरेको स्वीकार गरेका हुन् । भागरथीको परिवारसँग ती युवकको परिवारको सम्बन्ध बिग्रेको थियो ।

घटनाको १३औँ दिन प्रहरीले उनलाई पक्राउ गरेको हो । आरोपी युवाले सुरुमा भागरथीलाई सानो भीरबाट लडाइदिएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएको प्रहरी स्रोतको दाबी छ । भागरथीको बलात्कारसमेत भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरिसकेको छ । 

अन्य परिस्थितिजन्य प्रमाणले पनि उनको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ । तर, उनलाई पक्राउ नगरी प्रहरीले केही दिन निगरानीमा मात्र राखेको थियो । उनीविरुद्ध पर्याप्त प्रमाण भेटिएपछि पक्राउ गरिएको स्रोत बताउँछ । भागरथीको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीय विद्यार्थीले गरेको प्रदर्शनमा आरोपी पनि सहभागी हुँदै आएका थिए ।

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिमका प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदी १० दिनदेखि घटनास्थल बैतडीको दोगडाकेदार गाउँमै छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट समेत डिएसपीको कमान्डमा प्रहरी टोली खटिएको छ । 

निर्मला पन्त प्रकरणमा असफलताले गर्दा प्रहरी दबाबमा थियो । अहिले पनि १३ दिनसम्म दोषी पक्राउ नपर्दा प्रहरीको क्षमतामाथि प्रश्न उठिरहेका छन् । प्रहरी अनुसन्धानमा शंका गर्दै पीडित परिवारले अहिलेसम्म शवसमेत बुझेका छैनन् । तर, प्रहरीले भने शंकास्पदलाई पक्राउ गरेर सोध्नेभन्दा पनि प्रमाण संकलन गरेर अभियुक्तलाई घेर्ने नीति लिएको र त्यसमा सफल भएको दाबी गरेको छ । 

भागरथी हत्याको १३औँ दिन पनि बैतडीका विभिन्न ठाउँमा आन्दोलन जारी रह्यो । विद्यार्थीले जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गर्दै दियो बालेर विरोध जनाए । त्यस्तै, दोगडाकेदार गाउँपालिकामा निरन्तर प्रदर्शन हुँदै आएको छ । स्थानीयले तीन दिनदेखि घन्टी जुलुस गर्दै आएका छन् ।