नेपाली कांग्रेसले सरकारबारे समीक्षा गर्दै सरकारले तीन वर्षमा तीन उपहार दम्भ, द्वन्द्व र भ्रष्टाचार मात्र जनतालाई दिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले टिप्पणी गरेका छन्।
सोमबार पत्रकारसँग कुरा गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अनुकूल राजनीतिक परिस्थिति भएर पनि इतिहासको सबैभन्दा बलियो भनिएको सरकार प्रधानमन्त्रीको अयोग्यताको कारणले असफल भएको बताए ।
कांग्रेसले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार पूर्णतः असफल भएको प्रतिक्रिया दिएको छ । इतिहासका सुन्दर तीन वर्ष सरकारले खेर फालेको कांग्रेसको टिप्पणी छ ।
कांग्रेसले वर्तमान सरकारले तीन वर्ष पूरा गरेको सन्दर्भमा सहयोगी प्रतिपक्षी हुँदाहुँदै पनि सरकारले काम गर्न नसकेर असफल भएको प्रतिक्रिया दिएको हो ।
कांग्रेसले सरकार बलियो भनिए पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको र प्रधानमन्त्री स्वयं अयोग्य भएको प्रारम्भिक मूल्यांकन गरेको शर्माले बताए ।