काठमाडौं,। बैदेशिक रोजगार कसूर मुद्दामा फरार प्रतिवादी पाल्पा बगनासकाली गाउँपालिका ७ बस्ने ५९ वर्षीया टिका कुमारी थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सर्वोच्च अदालतको २०७७ मंसिर ११ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी थापालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवलमा पठाइएको उक्त व्यूरोले जनाएको छ ।
यसैगरी बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं बुढानिलकण्ठ नगरपालिका ७ बस्ने ४८ वर्षीया सुशिला श्रेष्ठलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७६ साउन १४ गतेको फैसलाले बैकिङ कसूर मुद्दामा ५ दिन कैद र ७ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी श्रेष्ठलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले शान्तिनगर काठमाडौंबाट पक्राउ गरेको हो । जिल्ला अदालत चितवनको आदेश बमोजिम उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवलमा पठाइएको उक्त व्यूरोले जनाएको छ ।
मकवानपुरको सवारी ज्यान मुद्दाका फरार प्रतिवादी हेटौंडा उपमहानगरपालिका १४ बस्ने ५९ वर्षीय कुल नरसिंह गोङवा तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन हेटौंडाको २०५८ जेठ ३२ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ महिना कैद र २ हजार जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले सोही उपमहानगरपालिका १५ बाट पक्राउ गरेको हो । उनलाई कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय मकवापुरले जनाएको छ । यसैगरी लागूऔषध गाँजा चरेस मुद्दाका फरार प्रतिवादी मकवानपुर मनहरी गाउँपालिका ९ बस्ने ५१ वर्षीय दिनेश उप्रेतीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरको २०६८ माघ ३० गतेको फैसलाले लागूऔषध गाँजा चरेस मुद्दामा ४ वर्ष कैद र ५० हजार जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले सोही गाउँपालिका ९ ज्यामिरेबाट पक्राउ गरेको हो । उनलाई कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।