काठमाडौं, रौतहटकोे गौर नगरपालिका ४ वसपार्क नजिक सडकबाट स्रोत नखुलेको २१ लाख ९० हजार रूपैयाँ र ३१ लाख १६ हजार रुपैयाँ बराबरको ५ थान बैंक चेक सहित परोहा नगरपालिका १ जिंगडवा वेलविछुवा बस्ने २७ वर्षीय मोहम्मद दिलसाद आलमलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको छ ।
नम्बर नभएको रातो रंगको स्कुटरमा उक्त रकम साथमा बोकी हिँडेको भन्ने खबर प्राप्त हुनासाथ २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय
रौतहटको प्रहरी टोलीले विभिन्न दरको उक्त रकम र आलमको नामको उक्त चेक सहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि सम्पत्ति सुद्धिकरण विभागमा पठाइएको तथा नम्बर नखुलेको स्कुटरको कारवाहीको लागि भंसार कार्यालय गौरमा पठाइएको छ ।सर्लाहीको मलंगवा नगरपालिका ५ बाट स्रोत नखुलेको ३ लाख रूपैयाँ सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मलंगवा नगरपालिका ३ बस्ने २३ वर्षीय सरताज मिकरानी, सोही नगरपालिका ५ बस्ने २० वर्षीय सैफली मिकरानी र २५ वर्षीय तस्बिर मिकरानी रहेका छन् ।प्रहरी चौकी भाडसरबाट खटिएको प्रहरी टोलीले बिआर ०६ सी १६०६ नम्बरको मोटरसाइकल चालक सरताज मिकरानीलाई जाँच गर्दा उनको साथबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो । साथै सो रकम लिन गएको बिआर ३० टि ५७७९ नम्बरको मोटरसाइकल चालक सैफली मिकरानी र मोटरसाइकलमा सवार तििस्बर मिकरानी समेतलाई आवश्यक अनुसन्धानको लागि प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।