बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

भागरथी हत्या प्रकरणः घटनास्थलतर्फ लागे डीआईजी सुवेदी 

आइतबार, माघ २५ २०७७

काठमाडौं । बैतडीको दोगडाकेदार ७ मा भएको हत्याको निरीक्षणका लागि सुदूरपश्चिम प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदी आफैं घटनास्थलतर्फ गएका छन् ।

चुडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या अनुसन्धान सुपरीवेक्षणका लागि सुवेदी त्यहाँ पुगेका हुन् ।

प्रदेश प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहका अनुसार सुवेदी आइतबार बिहानै त्यसतर्फ गएका हुन् ।

घटनाको छानविनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुवेदीले शुक्रबारै प्रदेशका अर्का एसएसपी जनकराज पाण्डेलाई पनि खटाइसकेका छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोली पनि खटाइसकेको छ ।

कञ्चनपुरको निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि खटिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखु नेतृत्वको टोलीलाई बैतडी पठाइएको हो ।

बाखु नेतृत्वको टोलीले घटनाको प्राविधिक विश्लेषणमा सहयोग गर्नेछ । भट्टको मोबाइल प्रहरीले बरामद गरेको छ, त्यसको कल डिटेल लगायतको विश्लेषणबाट अनुसन्धानमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

बलात्कारपछि हत्याको आशंका

सनातन धर्म माध्यमिक विद्यालयमा पढ्न गएकी उनी बुधबार साँझसम्म घर फर्किइनन् । त्यसपछि बालिका हराएको भन्दै खोजी सुरु थालिएको थियो ।

बिहीबार बिहान उनको शव लबलेक सामुदायिक वनमा भेटियो । मुख्य सडकबाट ५० मिटर टाढा शव भेटिएलगत्तै तालिम प्राप्त कुकुर लगेर प्रहरीले स्नीफिङ गराएको थियो ।

सामान्य पानीसमेत परिरहेको भए पनि कुकुरले शव भेटिएकै स्थान वरिपरि घटना भएको संकेत गरेको थियो ।

अनुसन्धानमा खटिएका एक अधिकृतले अनलाइनखबरसँग सुनाए, ‘झाडी माडिएको र घिसारिएको चोटपटक भएकाले पनि घटना नजिकै भएको हुनसक्ने देखिएको छ ।’