काठमाडौं, रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका २ स्थित सीमा ईलाकाबाट माघ २२ गते एपीएफ टोलीले करीब एक लाख ७५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सात थान मोवाईल सेट बरामद गरेको छ ।
यूपी ५५ एसी ६४३० नम्बरको भारतीय मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा उक्त मोवाईल सेट सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त मोटरसाइकल समेत बरामद गरेको छ ।
एपीएफ टोलीले बरामद मोवाईल सेट तथा मोटरसाइकल स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । बरामद मोटरसाइकलको भन्सार दाखिला मूल्य एक लाख रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मनहरा महोत्तरीबाट खटिएको एपीएफ टोलीले माघ २२ गते करीब एक लाख दुई हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा तथा किराना सामान महोत्तरी जिल्लाको सिसवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट बरामद गरिएको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।