क्यानडा लैजाने भन्दै नेपाली युवाहरूबाट रकम असुल्ने चार भारतीय नागरिकलाई वैदेशिक रोजगार विभागले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा विभागको टोलीले सोमबार बेलुका टोखास्थित गणपति ह्याप्पी नेपाल नामक कम्पनीमा छापा मारेको थियो ।
नेपाली म्यानपावरसँगको मिलेमतोमा नक्कली कम्पनी खडा गरी रकम असुल्दै गरेको अवस्थामा उनीहरूलाई विभागले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक ३८ वर्षीय अवतार सिंह, ४१ वर्षीय पुनित शर्मा, २३ वर्षीय काजल रानी र १९ वर्षीय दलवीर करलाई रहेका छन् । विभागका अनुसार उनीहरूले सञ्चालन गरेको सो कम्पनीलाई नेपाली ट्रिपल स्टार इम्प्लोइमेन्ट म्यानपावर कम्पनीले सहयोग गर्दै आएको छ ।
सोही म्यानपावरको भवनमा भारतीय नागरिकले गणपति ह्याप्पी लाइफ नेपाल सञ्चालन गर्दै आएको विभागले जनाएको छ । पक्राउ परेका भारतीय नागरिकले आफू भारतस्थित गणपति ह्याप्पी लाइफ इन्डिया नामक कम्पनीको प्रतिनिधि भएको बताएको विभागका अनुसन्धान अधिकृत कुशल बरालले जानकारी दिए । ‘तर, भारतमा त्यो कम्पनी छ–छैन । उनीहरू त्यो कम्पनीका प्रतिनिधि हुन् या होइनन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ,’ उनले भने ।