बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

‘विदेशतिर नाभि जोडिएकालाई मत नदिनुहोला’

आइतबार, माघ १८ २०७७

‘त्यही निर्वाचन क्षेत्रबाट छानिएका सांसद अयोध्यापुरीमा राम मन्दिर बनाउने कुरा गर्न किन सक्नुहुन्न ?’

चितवन — प्रतिनिधिसभा विघटनपछि कार्यकर्ता भेला, सभा र प्रशिक्षणमा सक्रिय प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार चितवन ओर्लेर चुनावी एजेन्डा अघि सारेका छन् । नेकपाको अर्को समूहमा नेतृत्व गरिरहेका पुष्पकमल दाहालको चुनावी क्षेत्रमा ओलीले मत मात्र मागेनन्, चितवन केन्द्रित दुई आयोजनाको शिलान्यास गरे ।

उनले दाहालप्रति संकेत गर्दै ‘विदेशमा नाभि गाडिएका’, ‘गफप्रेमी’ नभएर जनताका निम्ति काम गर्ने र देशभित्र साइनो सम्बन्ध भएकालाई मतदान गर्न आग्रह गरे । ‘नाभि विदेशमा गाडिएका, अन्यत्र जोडिएकालाई मत नदिनुहोला,’ ओलीले भने ।

गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ र सहरी विकासमन्त्री प्रभु साहसहित हेलिकप्टरमा आएका ओलीले यहाँबाट निर्वाचित सांसद र नगरप्रमुखले कुनै काम नगरेको आरोप लगाए । भरतपुरको केन्द्रीय बसपार्कमा आयोजित आमसभामा उनले भने, ‘देशको स्वाभिमानलाई उठाउने र देश विकास गर्ने कामको अगुवाइ म गर्छु ।’

चुनाव प्रचारको झल्को दिने गरी आयोजना गरिएको आमसभामा उनले चितवनकेन्द्रित योजनाहरूको घोषणासमेत गरे । हाल २ हजार २ सय ८८ वर्गकिलोमिटर क्षेत्रफल रहेको चितवनको आधुनिक विकासका लागि ‘बृहत् चितवन भ्याली’ आयोजना चलाउने जानकारी उनले दिए । नवलपुरको दाउन्नेदेखि पूर्वमा मकवानपुरको मनहरिसम्मको ४ हजार ७ सय ८८ वर्गकिलोमिटर क्षेत्र समेटेर विकास योजना ल्याउने उनले बताए । ‘यो भ्यालीका लागि हामी गुरुयोजना बनाउँछौं । खेतीयोग्य जमिनमा आधुनिक खेती हुन्छ । निकुञ्ज आरक्ष र स्थानीयबीच द्वन्द्व समाप्त हुने गरेर कार्यक्रम ल्याइन्छ,’ सभामा उनले भने ।

प्रधानमन्त्री ओलीले नारायणी नदीमा पुल बन्न लागेको, नारायणी र राप्तीमा तटबन्ध बन्दै गरेको जानकारी दिए । बस र कार चढ्नेले झ्यालबाटै हेर्ने र मोटरसाइकल चढ्नेले पनि नियाल्ने आकर्षक सिग्नेचर ब्रिज नारायणीमा बन्ने उनले बताए ।

माडीमा आउँदो वर्ष राम मन्दिर बनाएर प्राणप्रतिष्ठा गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘माडीमा राख्न रामको मूर्ति तयार भयो । सीताको पनि बन्दै छ । लक्ष्मण र हनुमानको बन्नेछ । यो वर्ष नभ्याइने भयो । अर्को रामनवमीमा भव्य तरिकाले मन्दिर बनाएर प्राणप्रतिष्ठा गरिनेछ,’ प्रधानमन्त्री ओलीले भने ।

माडीमा राम मन्दिर निर्माणमा त्यहाँबाट निर्वाचित सांसदले केही नबोलेको भन्दै ओलीले दाहालप्रति व्यंग्य गरे । ‘त्यही निर्वाचन क्षेत्रबाट छानिएका सांसद अयोध्यापुरीमा राम मन्दिर बनाउने कुरा गर्न किन सक्नुहुन्न ? कसका डरले नसकेको हो ? बडा सक्कली राष्ट्रवादी भएर हिँड्नुहुन्छ । मयूरको प्वाख लाउँदैमा अर्को चरो मयूर हुँदैन,’ दाहालप्रति ओलीको कटाक्ष थियो ।

सभाअघि प्रधानमन्त्री ओलीले भरतपुरमा बन्ने सिटी हल र पूर्वपश्चिम राजमार्गको नारायणगढ–पुलचोकदेखि भरतपुरको गोन्द्राङसम्मको ६ किलोमिटर सडकलाई ६ लेन फराकिलो बनाउने कामको शिलान्यास गरेका थिए । आजको कान्तिपुर दैनिकबाट