काठमाडौं, मकवानपुरको हेटौंडा उपमहानगरपालिका १० स्थित बसपार्कबाट १० किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा सखुवा प्रसौनी गाउँपालिका १ बस्ने ५० वर्षीय शंकर चौधरी र सोही ठाउँ बस्ने ५० वर्षीय राम बिलास पासवान रहेका छन् । शंकास्पद रुपमा उभिईरहेका उनीहरुको झोला जाँच गर्दा उक्त लागूऔषध फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
झापाको बिर्तामोड नगरपालिका ६ बुट्टाबारीबाट २ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय सुनिल राई र सोही नगरपालिका ७ बस्ने २३ वर्षीय रुपेश गुरुङ रहेका छन् । बिषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कैलालीको गोदावरी नगरपालिका १ अत्तरीया धनगढी रोडस्थित सार्थक प्यालेस होटलबाट २४ ग्राम ५४ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन र नगद १७ हजार ७ सय रुपैयाँ सहित बैतडी डिलासैनी गाउँपालिका १ बस्ने २८ वर्षीय पुरन कोटारीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा शंकास्पद अवस्थामा बसिरहेका पुरनलाई ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त खैरो हेरोइन र नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।