काठमाडौं । कास्की, कञ्चनपुर, पर्सा, सिरहा, झापा र सुनसरीका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्की पोखरा महानगरपालिका १७ हिमचुली मार्गबाट नियन्त्रित लागूऔषध १० एम्पुल डाईजेपाम, १० एम्पुल फेनारगन, १० एम्पुल नुर्फिन, नगद १८ हजार रुपैयाँ र २ थान मोबाइल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने बर्दिया ठकुरद्वार नगरपालिका ८ घर भएका २९ वर्षीय मिन रानाभाट र बाँके कोहलपुर नगरपालिका १७ घर भएका २७ वर्षीय बिशाल राना मगर रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले मिन रानाभाटको कोठाबाट उक्त परिमाणको लागूऔषध तथा नगद सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरु उपर लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरबाट ७० ग्राम अवैध लागूऔषध चरेश सहित सोही ठाउँमा होटल व्यवसाय गर्ने ४१ वर्षीय देबेन्द्र बहादुर कठायतलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनको साथबाट उक्त चरेश फेला पारी उनलाई पक्राउ गरेको हो । पर्साको वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट २ सय ३१ पीस नियन्त्रित लागूऔषध नाइट्राभेट सहित सोही महानगरपालिका ९ बस्ने १३ वर्षीय बालकलाई प्रहरीले मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा चेकिङमा खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी ती बालकलाई पक्राउ गरेको हो । साथै मकवानपुर बागमी गाउँपालिका(६ बस्ने २२ वर्षीय दिपक पोख्रेलले ती बालकलाई उक्त लागूऔषध बोक्न लगाएको खुल्न आएपछि दिपकलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
सिरहा कर्जन्हा नगरपालिका १० स्थित सूर्य सिमेन्ट फ्याक्ट्रीको कम्पाउण्डभित्र रहेको घरबाट ३ ग्राम ९ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने वस्तु सहित मिर्चैया नगरपालिका(७ बस्ने २६ वर्षीय दिलिप यादब लगायत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उक्त वस्तु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यसैगरी लहान नगरपालिका १० खुट्टी पुल नजिक सडकबाट ४ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने वस्तु सहित लहान नगरपालिका १८ भदैया बस्ने २५ वर्षीय विजय कुमार पासवान र कल्याणपुर नगरपालिका ११ कोरनियाही बस्ने १९ वर्षीय मोहमद ईबरानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
झापा दमक नगरपालिका ८ बालुवाटार डेरा गरी बस्ने गौरीगंज गाउँपालिका ७ घर भएका २४ वर्षीय बिनोद कुमार पौदार र १८ वर्षीय किशोरलाई २ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, नियन्त्रित लागूऔषध ३ बोतल कोरेक्स, १७ ट्याब्लेट नाइकाभेट र नगद ११ हजार रुपैयाँ सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुको कोठा तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । सुनसरी धरान उपमहानगरपालिका ८ बस्ने ईटहरी उपमहानगरपालिका १९ घर भएका २३ वर्षीय बिकास बुढाथोकीलाई नियन्त्रित लागूऔषध १ सय क्याप्सुल स्पास्मो प्रोक्सभोन र ८० ट्याब्लेट नाइट्रोसन सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको कोठामा लागूऔषध बेचबिखन भइरहेको भन्ने् सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।