जनकपुरधाम- प्रदेश-२ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर जनताको ढाँड भाँच्ने काम गरेको आरोप लगाएका छन्।
संविधान विपरीत प्रधानमन्त्री ओलीले संसद विघटन गरेर निर्वाचनको घोषणा गरेर जनताले तिरेको करमाथि मनोमानी गरेको आरोप लगाएका हुन्।
आइतबार धनुषाको गणेशमान चारनाथ नगरपालिकाको न्यायिक समितिको ईजलाश कक्षको उदघाटन गर्न पुगेका मन्त्री यादवले संघियतालाई मजबुत गर्नुको साटो अहिलेको समयमा जनताको ढाँड भाँच्ने गरी करोडौँ रुपैया दुरुपयोग गर्ने गरी कार्य गरेको आरोप लगाए।
उनले भने, ‘अहिले संघियतालाई मजबुती गर्ने आवश्यकता थियो तर प्रधानमन्त्रीजीले संघियतालाई झन बल्झाउने र कमजोर पार्ने गरी काम गर्नुभो।’ प्रधानमन्त्री ओली अलोकतान्त्रिक ढङ्गले संविधान माथी हावी हुनु मुलुक र जनताका लागि पीडादायी रहेको बताए।
संविधान र कानुन अनुसार काम गरे मात्र मुलुकको विकास र समृद्धि हुन सक्ने भएकोले त्यसलाई मानेर चल्न मन्त्री यादवले आग्रह गरे। मुलुकलाई बर्बाद पार्ने गरी प्रधानमन्त्री ओलीले संसद विघटन गरेकोले यो नितान्त गलत र असंबैधानिक रहेको दावी गरे।