सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

न्यायाधीशहरुलाई कहिल्यै भेटेको पनि छैन, देखेको पनि छैन, चिनेको पनि छैनः प्रधानमन्त्री ओली

आइतबार, माघ ४ २०७७

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई भेटेको भन्ने समाचारमा कुनै सत्यता नभएको दावी गरेका छन्।

नेकपा (ओली पक्ष)को प्रदेश १ सम्पर्क कमिटीको भेलामा बोल्दै प्रधानमन्त्री ओलीले न्यायाधीशलाई कहिल्यै देख्न पनि नदेखेको र  चिन्न पनि नचिनेको जिकिर गरे।

उनले भने, ‘न्यायाधीश प्रधानमन्त्रीलाई भेट्न गए भनियो, यो भन्दा झुट के हुन्छ? न्याय प्रणालीमाथिको जनताको विश्वास हटाउनको लागि, न्याय प्रणालीमाथिको यो गम्भीर प्रहार हो। योभन्दा घिनलाग्दो कुरा के हुन्छ? उहाँहरु यस कुरालाई प्रमाणित गरेर देखाउन सक्नुहुन्छ?’

उनले सपना प्रधान मल्ललाई न्यायाधीश हुनअघि सार्वजनिक कार्यक्रममा भेटेपनि अरु न्यायाधीशलाई देख्दै नदेखेको दावी गरे।

उनले भने, ‘ती नाम गरेका न्यायाधीशजीहरुलाई मैले सायद कहिल्यै भेटेको पनि छैन। यसपल्ट मात्रै होइन, कहिल्यै पनि सायद भेटेको छैन। सपना प्रधान मल्ललाई मैले भेटेको थिएँ, सर्वोच्चको न्यायाधीश हुनुभन्दा अगाडि वकिल भएका बेला। त्यो पनि सार्वजनिक कार्यक्रममा। व्यक्तिगत भेटघाट कहिल्यै भएको छैन। अरु न्यायाधीशहरुलाई मैले देखेको पनि छैन। सायद चिनेको पनि छैन। हिजो सर्वोच्च अदालतले खण्डन गरिसक्यो।’

प्रधानन्त्रीले न्यायाधीश भेटेको भनेर प्रकाशित समाचारप्रति आक्रोश पोख्दै यो लोकतान्त्रिक संस्थामाथिको हमला भएको बताए।