काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा गुटवाद र व्यक्तिवाद रहेको बताएका छन्। प्रचण्ड माधव पक्षले आयोजना गरेको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘केपी ओलीमा गुटवाद र व्यक्तिवाद भए, यसै कारणले पार्टीमा समस्या भएको र यिनै प्रवृत्तिमा जुध्दै आएको छौँ’ उनले भने, ‘ओलीमा राजनीतिक चरित्र छैन, केही झुण्डहरूले केपी बा भन्ने गरेका छन्।’
केपी ओलीको खुट्टा छुने गरेको भन्दै त्यसप्रति पनि उनले आपत्ति जनाए। ‘केपीतिर भ्रममा परेर गएका छन्। बाध्यताले पनि गएका होलान्। उनका पार्टीमा अधिकांश मानिस त्यस्तै भएका छन्’, उनले भने, ‘ओलीको विभेदकारी कुरा सुनेको भन्दै आफूविरुद्ध सफाया गर्नेविरुद्ध लाग्दै उनी नांगिएका छन्। पार्टी अध्यक्ष हुँदै प्रधानमन्त्रीमा दम्भ पलाउँदै गएको छ।’
उनले अहिलेको लडाइँ पदका लागि नभएको दाबी गरे। पार्टीमा दुवै अध्यक्षले पदको कुरा नउठाएको भन्दै व्यापक रूपमा पार्टी विचारले नचलेको कुरा उठाएको बताए। हाम्रासामु दुई ठूला कुरा भएको भन्दै उनले ओलीको भ्रममा नपर्न पनि आग्रह गरे। ओलीका भ्रम चिर्न सक्नुपर्ने भन्दै पार्टीलाई गतिशील बनाउन र धारिलो बनाउने जिम्मेवारी आफूहरूको भएको बताए।
‘केपी ओली कार्यकर्ताको मूल्यांकन गर्दा रगत जाँच्नुहुन्छ। डिनए पास भएका मान्छेलाई मात्रै पार्टीमा राख्ने गरेका छन्’ उनले भने, ‘त्यही ब्रान्डका मान्छे जता गए पनि तपाईंले पाउनुहुनेछ। तिनै ब्रान्डका मान्छे ओलीका हनुमान हुन्छन्।’