काठमाडौं । पार्टी विभाजनको अवस्थामा पुगेपछि नेकपाका नेता तथा कार्यकर्ता एकअर्को समूहका नेताहरु आरोप प्रत्यारोपमा मात्रै उत्रिएका छैनन्, राजनीतिकभन्दा व्यक्तिगत आक्षेप लगाइरहेका छन् ।
यही पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको छ । दुवै समूहले लगातारका भेला र सभाको आयोजना गरिरहेका छन् ।
तर, यो सभा र भेलामा एकअर्को समूहका नेताहरुमागि गम्भीर आरोप र व्यक्तिगत चरित्रमाथि प्रश्न उठाउन थालिएको छ । जुन राजनीतिकभन्दा अराजनीतिक व्यवहार देखिन थालिएको छ ।
यसैक्रममा प्रचण्ड–नेपाल समूहले बुधबार काठमाडौंसहित मुलुकभर प्रतिनिधि सभा विघटनविरुद्ध विरोध सभाको आयोजना गरेको थियो ।
काठमाडौंमा पूर्वप्रधानमन्त्रीत्रय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालसहित शीर्षनेताहरु र्यालीमा सहभागी भए ।
उनीहरु सहभागी र्यालीमा अराजनीतिक नारा घन्कियो, जुन नारा सबैको शीर झुकाउने खालको थियो । तर, प्रचण्ड–नेपाल ति नारा सुनिरहे, रोक्न सकेनन् ।
सार्वजनिक स्थानमा वा जहाँकहीँ व्यक्तिगत चरित्र वा व्यवहारमाथि टिप्पणी गर्न पाइँदैन । तर, प्रचण्ड–नेपालको र्यालीमा सहभागीहरुले लगाएको नाराले मुलुककै शीर झुकाएको छ ।
तीन जना पूर्वप्रधानमन्त्रीहरु सहभागी र्यालीमा राष्ट्रपति र प्रधानमन्त्रीको व्यक्तिगत चरित्रमाथि प्रश्न उठाएर आरोप लगाउँदै लगाइएको नाराले मुलुकको शीरमात्रै झुकाएको छैन, असभ्य राजनीतिको परकाण्ठ नाघेको प्रमाणित भएको छ ।
विद्यादेवी महिला हुन्, उनी महिलामात्रै पनि होइनन्, यो देशको राष्ट्र प्रमुख पनि हुन् । केपी शर्मा ओली नेकपाका अध्यक्ष मात्रै होइनन्, उनी सरकार प्रमुख पनि हुन् । उनीहरुका राजनीतिक चरित्र र प्रवृत्तिमाथि प्रश्न गर्न, टिप्पणी गर्न लोकतान्त्रिक मुलुकमा पाइन्छ ।
तर, राष्ट्रपति र प्रधानमन्त्रीलाई जोडेर लगाइएको असभ्य नारा प्रचण्ड, नेपाल, खनालसहितका नेताहरुले रोक्न नसकेर अराजनीति गतिविधि गरे ।
राजनीतिक मुद्दा र विषयलाई उठाइरहँदा महिलाको सिन्धुरलाई जोडेर लगाइएको असभ्य नारा रोक्ने नसकेका नेतृत्वकर्ता प्रचण्ड–नेपाललाई चरित्र हत्या र मानहानि अभियोगमा मुद्दा चलाउनु पर्ने आवाज सामाजिक सञ्जालमा उठ्न थालेको छ ।