शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

सत्तारुढ दलभित्रको असमझदारी शुभ संकेत होइन : बाबुराम भट्टराई

शुक्रबार, कार्तिक २० २०८३

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ दलभित्र सरकार र पार्टीबीच बढ्दै गएको असमझदारीलाई देश र लोकतन्त्रका लागि शुभ संकेत नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले नवोदित सत्तारुढ दलभित्रको असमझदारी सार्वजनिक रूपमै छताछुल्ल हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

‘नवोदित सत्ताधारी दलभित्र सरकार र पार्टीबीचको असमझदारी बढ्दै गएको कुरा सार्वजनिक रूपमा पोखिन थाल्नु देश र लोकतन्त्रको निम्ति शुभ संकेत होइन,’ उनले लेखेका छन् ।

भट्टराईले नेपालको राजनीतिक इतिहासमा विभिन्न दलभित्र भएका अन्तर्संघर्ष र विभाजनले देश, लोकतन्त्र र जनतालाई ठूलो क्षति पुर्‍याएको स्मरण गराएका छन् ।

उनले २००७ सालपछि नेपाली कांग्रेसमा बीपी कोइराला र मातृकाप्रसाद कोइरालाबीच देखिएको समूहगत संघर्ष, २०४७ पछि कांग्रेसमा बनेका ७४ र ३६ समूह तथा २०५८ पछि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीचको विवादलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।

त्यस्तै, २०५२ पछि नेकपा एमालेमा महाकाली सन्धिका पक्षधर र विरोधीबीचको विवाद तथा २०६४ पछि माओवादीमा संविधान निर्माण र जनविद्रोहको पक्षमा रहेका समूहबीचको अन्तर्संघर्षले पनि देशको राजनीतिमा नकारात्मक असर पारेको उनको भनाइ छ ।

‘इतिहास दोहोरिन्छ किनकि मान्छेले आफ्ना गल्ती दोहोर्‍याउँछन्,’ भन्ने भनाइ उद्धृत गर्दै उनले नयाँ पुस्ताका राजनीतिक नेतृत्वलाई विगतका गल्ती नदोहोर्‍याउन सचेत गराएका छन् ।

जेनजी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले इतिहासका गल्तीबाट पाठ सिक्नुपर्ने उनको सुझाव छ ।

‘इतिहासका गल्ती नदोहोर्‍याऊन् । बरु इतिहासबाट पाठ सिकेर नयाँ इतिहास निर्माण गरून्,’ उनले सत्तारुढ दल र सरकारलाई आग्रह गरेका छन् ।