काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यस्थित प्रिन्स विलियम काउन्टीमा ममता काफ्ले भट्टको हत्या अभियोगमा चलिरहेको मुद्दामा उनका पति नरेश भट्टले शव फेला नपरोस् भनेर टुक्र्याएर फोहोरमा राखेको स्वीकार गरेका छन् ।
प्रतिरक्षा पक्षका पहिलो साक्षीका रूपमा बिहीबार अदालतमा उपस्थित भएका भट्टले ममतालाई घरमा अचेत अवस्थामा फेला पारेपछि शव लुकाउने प्रयास गरेको बयान दिएका हुन् । उनले शव टुक्र्याएर फोहोरमा राखेको र फोहोर उठाउने दिनअघि नै त्यसलाई व्यवस्थापन गरेको स्वीकार गरेका छन् ।
अनुवादकको सहयोगमा बयान दिएका भट्टले वैवाहिक सम्बन्ध, ममताको मृत्यु भएको थाहा पाएको भनिएको घटनाक्रम, शव लुकाउने प्रयास र इन्टरनेटमा गरेका खोजीबारे अदालतमा जवाफ दिएका थिए । भोजन विश्रामका लागि सुनुवाइ स्थगित हुँदासम्म प्रतिरक्षा पक्षको प्रश्नोत्तर जारी थियो भने अभियोजन पक्षको जिरह सुरु भएको थिएन ।
ममतालाई अचेत अवस्थामा भेटेको दाबी
भट्टले सन् २०२४ जुलाई २९ को राति करिब ८ बजे आफू सुत्न गएको र त्यसबेला ममता घरको तल्लो तलामा रहेको भान्सामा फोनमा कुरा गरिरहेको बताएका छन् ।
भोलिपल्ट बिहान करिब ४ बजे शिशु छोरीको हेरचाह गर्न उठेपछि असामान्य गन्ध महसुस गरेको उनको भनाइ छ । त्यसपछि ममतालाई खोज्दा शयनकक्षमा ओछ्यानको खुट्टातिर भुइँमा अचेत अवस्थामा फेला पारेको उनले बताए ।
उनका अनुसार ममताको शरीरनजिक बान्ता, औषधिका चक्की, क्याप्सुल तथा विषादीजस्तो पदार्थ देखिएको थियो । उनले ममतालाई सीपीआर दिने प्रयास गरेको पनि बताए ।
तर, ममतालाई अचेत अवस्थामा फेला पारेपछि पनि प्रहरी वा एम्बुलेन्सलाई खबर नगरेको उनले स्वीकार गरे । आफू अत्यन्त आत्तिएको र घटनामा आफूलाई दोषी ठहर गरिने डरले तत्काल आपत्कालीन सहायता नबोलाएको उनको जवाफ थियो ।
शव टुक्र्याएर फोहोरमा राखेको स्वीकार
भट्टले ममताको शव फोहोरको डस्टबिनमा अट्ने गरी सानो बनाउन खोजेको स्वीकार गरेका छन् । त्यसका लागि शवका विभिन्न भाग काटेको र अदालतमा देखाइएको ‘रायोबी’ ब्रान्डको इलेक्ट्रिक आरासमेत प्रयोग गरेको उनले बताए ।
उनका अनुसार शवका खुट्टा शरीरबाट अलग गर्ने प्रयास गरेका थिए । तर, मानसिक तथा शारीरिक रूपमा कमजोर महसुस भएपछि काम पूरा गर्न नसकेको उनको भनाइ थियो ।
उनले शवका अवशेष भान्सामा प्रयोग हुने फोहोरका झोलामा राखेको र त्यसका लागि तीनवटा झोला प्रयोग गरेको अनुमान सुनाए । फोहोर उठाउने दिनअघि नै शवका अवशेष ग्यारेजमा रहेको फोहोरसँगै राखेको उनले बताए ।
अभियोजन पक्षका वकिलले शव टुक्र्याएर फेला नपरोस् भन्ने उद्देश्यले फोहोरमा राखेको हो भनेर प्रश्न गर्दा भट्टले त्यसलाई स्वीकार गरेका थिए ।
शव व्यवस्थापनका लागि सामग्री खोजेको बयान
भट्टले शव व्यवस्थापनका लागि आवश्यक सामग्री खोज्न होम डिपो र वालमार्ट गएको पनि अदालतमा बताएका छन् ।
उनका अनुसार होम डिपोबाट पञ्जा किनेका थिए भने पोटोम्याक नदीसम्म शव लैजान मिल्ने सामग्रीसमेत खोजेका थिए । त्यस्तै, घरको डस्टबिनबाट पुरानो फोहोर निकालेर गाडीमा राखी फल्स चर्चमा फालेको पनि उनले बयान दिएका छन् ।
ममताको मोबाइल फोन पछि नालीमा फालेको उनले स्वीकार गरेका छन् ।
ममताको परिवारलाई साथ दिन रातो कपडा लगाएर अदालत जान आग्रह
यसैबीच, ममताको परिवारलाई साथ दिन र न्यायको मागमा ऐक्यबद्धता जनाउन सर्वसाधारणलाई रातो रङको कपडा लगाएर अदालतमा उपस्थित हुन सामाजिक सञ्जालमार्फत आग्रह गरिएको छ ।
‘जस्टिस फर ममता’ लेखिएको प्रचार सामग्रीमार्फत ममताको मनपर्ने रङ रातो भएकाले रातो कपडा लगाएर अदालत आउन आह्वान गरिएको हो ।
विशेषगरी नर्स तथा स्वास्थ्यकर्मीलाई आफ्नो कार्यपोसाक (स्क्रब्स) लगाएर मानाससस्थित प्रिन्स विलियम काउन्टी जुडिसियल सेन्टरमा उपस्थित हुन अनुरोध गरिएको छ ।
‘ममताको परिवारसँग उभिऔँ’ भन्ने सन्देशसहित परिवारलाई सामुदायिक साथ दिन र न्यायको मागमा ऐक्यबद्धता जनाउन अभियान सञ्चालन गरिएको हो ।