काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीबीच आज शिष्टाचार भेटवार्ता हुँदैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १२ बजे हुने भेटमा नेपाल–भारतबीचको द्विपक्षीय हित र आपसी सहकार्यका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका विदेश सचिव मिश्री बुधबार काठमाडौं आइपुगेका थिए । उनले बुधबार नै परराष्ट्र सचिव अमृतबहादुर राईसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक गरेका थिए ।
भ्रमणका क्रममा मिश्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग पनि छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए ।
दुई देशबीचको सम्बन्ध, सहकार्यका सम्भावित क्षेत्र तथा आपसी हितका विषयमा केन्द्रित रहेर भ्रमणका क्रममा छलफल भइरहेको छ ।