सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै

सोमबार, कार्तिक १६ २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुन लागेको हो ।

आजको पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स दिउँसो साढे १२ बजे आमनेसामने हुनेछन् । त्यस्तै, दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच साँझ ५ बजे प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा अंकतालिकाको पुछारमा रहेको काठमाडौं पहिलो जितको खोजीमा मैदान उत्रनेछ । पहिलो खेलमा काठमाडौं जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

यता, अंकतालिकाको शीर्ष स्थानमा रहेको कर्णाली याक्स लगातार तेस्रो जित निकाल्दै आफ्नो अग्रता बलियो बनाउने लक्ष्यमा हुनेछ । कर्णालीले यसअघिका दुवै खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

आजको दोस्रो खेल सुदूरपश्चिम रोयल्सका लागि पनि महत्त्वपूर्ण हुनेछ । तीन खेल खेलेको सुदूरपश्चिमले एक खेलमा जित र दुई खेलमा हार बेहोरेको छ ।

अर्कोतर्फ, चितवन राइनोज भने प्रतियोगितामा अपराजित छ । पहिलो खेलमा जित निकालेको चितवनको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले अंक बाँडेका थिए । आजको खेल जित्दै चितवन आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ ।