आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

लक्ष्मी सनराइज बैकले पहिलो त्रैमासमै कमायो ६५ करोड भन्दा बढी नाफा

आइतबार, कार्तिक १५ २०८३

लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ । बैंकले समीक्षा अवधिमा ६५ करोड ३३ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६.४१ प्रतिशतले बढी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले ३३ करोड २३ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद नाफामा भएको करिब दोब्बर वृद्धिसँगै सञ्चालन मुनाफामा पनि उल्लेख्य सुधार देखिएको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ११२.९९ प्रतिशतले वृद्धि भई ९३ करोड ३१ लाख ७५ हजार रुपैयाँ पुगेको छ । कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकममा आएको कमी तथा गैरब्याज आम्दानीका स्रोतमा भएको सुधारले बैंकको नाफा वृद्धिमा मुख्य योगदान पुर्‍याएको देखिन्छ ।

बैंकले सम्भावित कर्जा जोखिम व्यवस्थापनका लागि छुट्याएको इम्पेयरमेन्ट चार्ज ३८.३६ प्रतिशतले घटाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ९३ करोड ९१ लाख ६१ हजार रुपैयाँ रहेको यस्तो रकम चालु आर्थिक वर्षको समीक्षा अवधिमा घटेर १ अर्ब १९ करोड ६८ लाख १० हजार रुपैयाँमा झरेको छ । कर्जा नोक्सानी व्यवस्थापनबापतको खर्च घट्दा बैंकको नाफामा सकारात्मक प्रभाव परेको हो ।

बैंकको खुद ब्याज आम्दानी भने सामान्य घटेको छ । समीक्षा अवधिमा खुद ब्याज आम्दानी १.६५ प्रतिशतले घटेर २ अर्ब ६७ करोड १ लाख ७२ हजार रुपैयाँ कायम भएको छ । तर, शुल्क तथा कमिसन, ट्रेडिङ र अन्य सञ्चालन आम्दानीमा भएको वृद्धिले ब्याज आम्दानीमा आएको गिरावटको प्रभावलाई केही हदसम्म सन्तुलन गरेको छ । बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ४.५३ प्रतिशतले बढेर ६४ करोड ४७ लाख ६५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ६१ करोड ६८ लाख ३६ हजार रुपैयाँ थियो । त्यस्तै, खुद ट्रेडिङ आम्दानी ३२.८१ प्रतिशतले बढेर २८ करोड ४८ लाख रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन आम्दानी १९ करोड ७० लाख रुपैयाँ रहेको छ ।

नाफा वृद्धिसँगै बैंकले व्यवसाय विस्तारमा समेत गति दिएको छ । गत असार मसान्तको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ग्राहक निक्षेप ३.५८ प्रतिशतले बढेर ४ खर्ब ३९ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तमा बैंकको कुल निक्षेप ४ खर्ब २४ अर्ब ३७ करोड ९६ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, बैंकको कर्जा लगानी पनि ५ प्रतिशतले वृद्धि भएको छ। गत असार मसान्तमा ३ खर्ब ५ अर्ब ८० करोड ३४ लाख रुपैयाँ रहेको कर्जा लगानी बढेर समीक्षा अवधिमा ३ खर्ब २१ अर्ब ८ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।