आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

माछापुच्छ्रे बैंकको नाफा ३१ दशमलव ८६ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो ५५ करोड

आइतबार, कार्तिक १५ २०८३

माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य वित्तीय सुधार गर्दै खुद नाफा ३१.८६ प्रतिशतले वृद्धि गरेको छ । बैंकले असोज मसान्तसम्म ५५ करोड ११ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ४१ करोड ७९ लाख ५६ हजार रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.५९ प्रतिशतले बढेर १ अर्ब ६८ करोड ६५ लाख २५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी १ अर्ब ४५ करोड ८९ लाख ४८ हजार रुपैयाँ थियो । बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४३ करोड ८५ लाख ६९ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी २ अर्ब ३० करोड ६९ लाख ५९ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ८६ करोड २ लाख ५३ हजार रुपैयाँ कायम भएको छ । यद्यपि, नाफामा उल्लेख्य वृद्धि देखिए पनि बैंकको वितरणयोग्य नाफा भने ११ करोड २१ लाख २४ हजार रुपैयाँमा सीमित छ । यसअनुसार बैंकको लाभांश वितरण क्षमता १.५१ प्रतिशत मात्रै रहेको छ । यसले तत्कालीन लाभांश क्षमताका दृष्टिले बैंकमाथि दबाब रहेको संकेत गर्छ । १५ अर्ब ४४ करोड ८७ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ९० करोड १० लाख ७७ हजार रुपैयाँ सञ्चित छ ।

व्यवसाय विस्तारतर्फ पनि बैंकले सकारात्मक प्रगति गरेको छ । असोज मसान्तसम्म बैंकको निक्षेप संकलन ३.५७ प्रतिशतले वृद्धि भई २ खर्ब २८ अर्ब ३७ करोड २० लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकसँग २ खर्ब २० अर्ब ४९ लाख ८४ हजार रुपैयाँ निक्षेप रहेको थियो । त्यस्तै, बैंकको कर्जा प्रवाह ५.४६ प्रतिशतले बढेर १ खर्ब ७२ अर्ब ६४ करोड ९९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकको कर्जा लगानी १ खर्ब ६३ अर्ब ६९ करोड ६७ हजार रुपैयाँ थियो ।

समीक्षा अवधिमा बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७७.९३ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) मा समेत सुधार देखिएको छ । गत वर्ष १३ रुपैयाँ ४३ पैसा रहेको प्रतिसेयर आम्दानी बढेर चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १७ रुपैयाँ ७१ पैसा पुगेको छ ।