एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा १ अर्ब २५ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२२ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकले १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा नाफामा सुधार देखिए पनि बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आवको असोज मसान्तसम्म खुद ब्याज आम्दानी १.३५ प्रतिशतले घटेर २ अर्ब ३७ करोड १४ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४० करोड ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकले खराब कर्जा नियन्त्रणमा भने उल्लेखनीय सुधार गरेको छ । गत वर्षको असोजमा ०.७४ प्रतिशत रहेको निष्क्रिय कर्जा (एनपीएल) चालु आवको असोजसम्म आइपुग्दा घटेर ०.५० प्रतिशतमा झरेको छ । खराब कर्जामा आएको यो गिरावटले बैंकको कर्जा व्यवस्थापन र सम्पत्तिको गुणस्तरमा सुधार आएको संकेत गर्छ । समीक्षा अवधिमा बैंकले खुद शुल्क तथा कमिसनबापत ६० करोड २९ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, कुल सञ्चालन आम्दानी ३ अर्ब २२ करोड ९५ लाख रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ७८ करोड ९७ लाख रुपैयाँ रहेको छ ।
बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड ८ लाख रुपैयाँ पुगेको छ । यसका आधारमा बैंकको लाभांश क्षमता ४०.७७ प्रतिशत रहेको छ । यसले आगामी दिनमा सेयरधनीलाई प्रतिफल वितरण गर्ने बैंकको सम्भावनालाई बलियो बनाएको छ । १४ अर्ब ४० करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब ४९ करोड ४६ लाख रुपैयाँ सञ्चित छ । बैंकको जगेडा कोष चुक्ता पुँजीभन्दा बढी रहनुले वित्तीय आधारलाई थप मजबुत बनाएको देखिन्छ । व्यवसाय विस्तारतर्फ पनि बैंकले प्रगति गरेको छ । चालु आवको असोज मसान्तसम्म बैंकले ३ खर्ब ३६ अर्ब ६२ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । यो गत वर्षको सोही अवधिको ३ खर्ब १६ अर्ब १ करोड ८५ लाख रुपैयाँको तुलनामा ६.५२ प्रतिशतले बढी हो । त्यस्तै, बैंकको कर्जा प्रवाह ३.८६ प्रतिशतले बढेर २ खर्ब ४४ अर्ब ६१ करोड ५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमाससम्म बैंकले २ खर्ब ३५ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।