ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गर्दै २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा २४.५ प्रतिशतले वृद्धि भएको हो ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ८५ करोड ८६ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा नाफामा भएको उल्लेख्य वृद्धिले बैंकको आम्दानी क्षमता र सञ्चालन कार्यसम्पादनमा सुधार आएको देखाएको छ ।
बैंकको नाफा वृद्धिमा खुद ब्याज आम्दानीसँगै शुल्क तथा कमिसनबाट प्राप्त आम्दानीको योगदान देखिएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १९ करोड ३२ लाख ५४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ४ अर्ब १३ करोड ३० लाख ६३ हजार रुपैयाँ थियो । त्यस्तै, शुल्क तथा कमिसनबाट हुने खुद आम्दानीमा अझ उल्लेख्य वृद्धि भएको छ । गत वर्षको पहिलो त्रैमासमा ९० करोड ७६ लाख ३४ हजार रुपैयाँ रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर १ अर्ब २२ करोड १२ लाख ९० हजार रुपैयाँ पुगेको छ ।
बैंकको कुल सञ्चालन आम्दानी ६ अर्ब रुपैयाँ नाघेको छ । समीक्षा अवधिमा कुल सञ्चालन आम्दानी ६ अर्ब ८० लाख ८६ हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ५ अर्ब ५१ करोड ६२ लाख १० हजार रुपैयाँ रहेको थियो । कर्जा तथा अन्य सम्भावित नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम समायोजनपछिको सञ्चालन आम्दानी पनि बढेर ५ अर्ब ५१ करोड २५ लाख ६१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ४ अर्ब ५० करोड ५२ लाख २३ हजार रुपैयाँ थियो ।
यसैगरी, बैंकको सञ्चालन नाफा ३ अर्ब २२ करोड २५ लाख २९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा २ अर्ब ३७ करोड १६ लाख ३६ हजार रुपैयाँ रहेको सञ्चालन नाफामा यस वर्ष उल्लेख्य वृद्धि भएको हो । बैंकको करअघिको नाफा पनि बढेर ३ अर्ब २२ करोड ३३ लाख १५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो नाफा २ अर्ब ४८ करोड ९१ लाख ३५ हजार रुपैयाँ थियो ।
नाफासँगै बैंकले निक्षेप संकलन र कर्जा लगानी पनि विस्तार गरेको छ । असोज मसान्तसम्म बैंकले ग्राहकबाट ६ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । गत आर्थिक वर्षको अन्त्यमा बैंकको निक्षेप ६ खर्ब ६९ अर्ब १७ करोड १४ लाख ४८ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, बैंकको कुल कर्जा लगानी बढेर ४ खर्ब ७१ अर्ब ९६ करोड ४९ लाख २८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको अन्त्यमा यस्तो कर्जा लगानी ४ खर्ब ३९ अर्ब ८ करोड ८५ लाख ५४ हजार रुपैयाँ थियो ।