नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य वित्तीय प्रगति गरेको छ । बैंकले साउनदेखि असोज मसान्तसम्मको तीन महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ४५.४ प्रतिशतले बढाउँदै २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ पुर्याएको छ ।
बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा बैंकले १ अर्ब ७५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। एक वर्षको अवधिमै नाफामा भएको करिब ८० करोड रुपैयाँको वृद्धिले बैंकको वित्तीय प्रदर्शनमा उल्लेख्य सुधार आएको देखाएको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीसमेत २१.४ प्रतिशतले बढेर ४ अर्ब ७३ करोड ७० लाख रुपैयाँ पुगेको छ । मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानीमा भएको वृद्धिले बैंकको नाफा विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको देखिन्छ । नाफामा भएको सुधारसँगै बैंकको वितरणयोग्य नाफा २ अर्ब २६ करोड ४६ लाख रुपैयाँ पुगेको छ । यसका आधारमा बैंकको वार्षिक लाभांश क्षमता २२.०८ प्रतिशत कायम भएको छ । यसले आगामी दिनमा सेयरधनीलाई प्रतिफल वितरण गर्ने बैंकको सम्भावनालाई समेत बलियो बनाएको छ ।
बैंकले समीक्षा अवधिमा निक्षेप संकलन र कर्जा विस्तार दुवैमा वृद्धि गरेको छ । असोज मसान्तसम्म बैंकको कुल निक्षेप ४.६ प्रतिशतले बढेर ६ खर्ब १९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा प्रवाह ३.४ प्रतिशतले वृद्धि भई ४ खर्ब ७६ अर्ब १ करोड रुपैयाँ पुगेको छ । बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ८०.०१ प्रतिशत कायम भएको छ । यसले बैंकको कर्जा प्रवाह र निक्षेप परिचालनबीच सन्तुलित अवस्था रहेको देखाउँछ ।