आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा उछाल, तीन महिनामै कमायो एक अर्ब १८ करोड

आइतबार, कार्तिक १५ २०८३

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफामा असाधारण वृद्धि गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको साउनदेखि असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा २५ सय २२ प्रतिशतले बढेर १ अर्ब १८ करोड १४ लाख २१ हजार रुपैयाँ पुगेको हो ।

गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकले जम्मा ४ करोड ५० लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा यस वर्ष नाफामा भएको ठूलो वृद्धिले बैंकको वित्तीय कार्यसम्पादनमा उल्लेख्य सुधार देखाएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा भने सामान्य वृद्धि भएको छ । गत वर्षको पहिलो त्रैमासमा ३ अर्ब २४ करोड ३१ लाख २५ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा बढेर ३ अर्ब २७ करोड १६ लाख ८५ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकले समीक्षा अवधिमा ५९ करोड २१ लाख १४ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ । बैंकको कुल सञ्चालन आम्दानी ४ अर्ब ३४ करोड ९४ लाख ७९ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १ अर्ब ६९ करोड ७ लाख ५ हजार रुपैयाँ रहेको छ ।

तर, खुद नाफामा उल्लेख्य सुधार देखिए पनि बैंकको वितरणयोग्य नाफा भने अझै ठूलो परिमाणमा ऋणात्मक छ । अघिल्ला वर्षहरूको सञ्चित नोक्सानीका कारण बैंकको वितरणयोग्य नाफा ५ अर्ब १६ करोड १६ लाख ३० हजार रुपैयाँ ऋणात्मक रहेको वित्तीय विवरणले देखाएको छ । यसले तत्काल लाभांश वितरण गर्न सक्ने अवस्थामा बैंक नरहेको संकेत गर्छ ।

बैंकको निक्षेप सङ्कलनमा वृद्धि भए पनि कर्जा विस्तार भने अपेक्षाकृत सुस्त देखिएको छ । चालु आवको असोज मसान्तसम्म बैंकको कुल निक्षेप १०.७५ प्रतिशतले बढेर ५ खर्ब ४० अर्ब ७९ करोड ६९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकसँग ५ खर्ब २६ अर्ब ६३ करोड २० लाख रुपैयाँ निक्षेप रहेको थियो ।

यसैगरी, बैंकको कर्जा प्रवाह ०.३३ प्रतिशतले मात्र बढेर ३ खर्ब २२ अर्ब ४१ करोड १२ लाख रुपैयाँ पुगेको छ । निक्षेपको तुलनामा कर्जा विस्तार न्यून रहेकाले बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ६६.७३ प्रतिशतमा सीमित भएको छ ।