बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रास्वपाको रोक

मंगलबार, असोज २७ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि लागेका आरोपबारे आन्तरिक छानबिन सुरु गर्दै उनलाई छानबिनको निष्कर्ष नआएसम्म सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा सञ्चारमाध्यममार्फत सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शङ्कास्पद आर्थिक लेनदेनसम्बन्धी आरोपलाई गम्भीर रूपमा लिइएको उल्लेख छ।

रास्वपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारेको छ।

घटनाको सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइसकिएको विज्ञप्तिमा जनाइएको छ।

‘अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका लागि छानबिन निष्कर्षमा नपुगुञ्जेलसम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ।

रास्वपाले राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको उल्लेख गर्दै विज्ञप्तिमा आन्तरिक तथा सरकारी अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा कानुन र पार्टी विधानबमोजिम थप कदम चालिने जनाइएको छ।

कानुन उल्लङ्घन गर्ने वा पदीय आचरणविपरीत कार्य गर्ने जोकोहीलाई राजनीतिक संरक्षण नदिइने रास्वपाले स्पष्ट पारेको छ।