गोरखा । बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाका विभिन्न स्थानमा रहेका छ वटा पुल बगाएको छ । बाढीपछि कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले दुई वटा मोटरेबल पुल र चार वटा झोलुङ्गे पुल बगाएको हो ।
बाढीले आरुघाट गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी जोड्ने तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगाएको छ । त्यस्तै, धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिजसमेत बाढीले बगाएको छ ।
यसैगरी, माछीखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडोभर्याङ र जगत् जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ ।
बाढीले चुमनुब्री गाउँपालिका–३ अन्तर्गत पैयूँ र बगर गाउँका करिब ३५ घरसमेत बगाएको छ । जगत्, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा पनि बाढीले क्षति पुर्याएको छ ।
बाढीबाट भएको भौतिक क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ भने सम्पर्कविहीन भएकाहरूको अवस्थाबारे थप जानकारी प्राप्त हुन बाँकी छ ।