गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलाबाट बूढीगण्डकी नदीमा आएको बाढीपछि चार जना सम्पर्कविहीन भएका छन् । बाढीले गोठ र पशु बगाउनुका साथै विभिन्न स्थानका पुलमा समेत क्षति पुर्याएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)का अनुसार उङ्गिलुङ खोला किनारमा रहेका चार वटा गोठ बाढीले बगाएको छ । ती गोठमा बाँधिएका १५ वटा याक र नाकसमेत बगेका छन् । पशुको हेरचाहका लागि गोठमा बसेका चार जना सम्पर्कविहीन भएका हुन् ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले धार्चे गाउँपालिकासँग जोड्ने माछीखोला पुल बगाएको छ । बाढीका कारण माछीखोला बजारमा समेत क्षति पुगेको छ ।
त्यस्तै, आरुघाट गाउँपालिकाको सोती र मान्बु जोड्ने पुल पनि बाढीले बगाएको छ ।
बाढीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ । सम्पर्कविहीन भएका चार जनाको खोजी तथा बाढी प्रभावित क्षेत्रको अवस्थाबारे थप विवरण प्राप्त हुन बाँकी रहेको छ ।