बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

अविरल वर्षाले देशका विभिन्न सडक अवरुद्ध, पृथ्वी र बीपी राजमार्ग ठप्प

शनिबार, असोज २४ २०८३

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। केही सडक पूर्ण रूपमा बन्द भएका छन् भने केहीमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गरेपछि यातायात अवरुद्ध भएको छ।

त्यस्तै, काभ्रेको रोशी क्षेत्रमा आएको बाढीका कारण बीपी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेस्थित कान्तिलोकपथ पनि पहिरोका कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ।

गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोरमा यातायात पूर्ण रूपमा ठप्प भएको छ। सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११ मा पहिरो जाँदा बालुवासंग्रही सडक पनि पूर्ण रूपमा बन्द भएको छ।

यसैगरी, धादिङको धुनिबेंसी नगरपालिका–९ मा पहिरो खसेपछि त्रिभुवन राजपथ एकतर्फी सञ्चालनमा रहेको छ।

नवलपरासीस्थित कालीगण्डकी करिडोर, म्याग्दीको बेनी–जोमसोम सडक र मनाङमा बेंसीसहर हुँदै खाङसारसम्म जाने सडकमा पनि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्।

उता, कर्णाली प्रदेशको डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिका–९ मा पहिरो खसेपछि भेरी करिडोर पनि एकतर्फी बनेको छ।

यसैबीच, गत भदौ १० गते बाढीले बगाएको राजमार्गको खण्ड अझै सञ्चालनमा आउन सकेको छैन।

बाढी, पहिरो र सडक कटानका कारण विभिन्न राजमार्गमा यातायात प्रभावित भएकाले यात्रुले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिनुपर्ने देखिएको छ।