काठमाडौँ । आज शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ।
मौसम पूर्वानुमानअनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्नेछ। कोशी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
शनिबार दिउँसो कोशी प्रदेशका सबै भूभागसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ। तराईका क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ।
राति देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्न सक्ने मौसम पूर्वानुमान छ।
त्यस्तै, राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।
यसअघि पछिल्लो २४ घण्टामा पनि देशका केही स्थानमा भारी वर्षा भएको थियो भने धेरै स्थानमा मध्यम वर्षा भएको थियो।