बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

इसेवाबाट किस्ताबन्दीमा विद्युतीय स्कुटर किन्न सकिने, ३६ महिनासम्मको सुविधा

मंगलबार, असोज १३ २०८३

नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले डिजिटल वालेट क्षेत्रमै पहिलोपटक ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक गरेको छ । नयाँ सेवामार्फत ग्राहकले इसेवा एपबाटै प्रक्रिया पूरा गरी किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सक्ने भएका छन्।

इसेवाले असोज ८ गते आफ्नो केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा रिलायन्स फाइनान्स लिमिटेड र विद्युतीय स्कुटर बिक्रेता कम्पनी परिमिता इन्भेष्टमेन्ट प्रालिसँग त्रिपक्षीय साझेदारी गरेको हो । साझेदारीपत्रमा इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का, रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्य र परिमिता इन्भेष्टमेन्टका मनन तुलाधरले हस्ताक्षर गरेका छन्।

साझेदारीअनुसार ग्राहकले परिमिताका विद्युतीय स्कुटर खरिदका लागि इसेवा प्लेटफर्ममार्फत द्यल्एी सुविधा लिन सक्नेछन् । यसका लागि रिलायन्स फाइनान्सले वित्तीय साझेदारका रूपमा कर्जा उपलब्ध गराउनेछ भने परिमिता इन्भेष्टमेन्टले विद्युतीय स्कुटर उपलब्ध गराउनेछ।

रिलायन्स फाइनान्सले यस योजनाअन्तर्गत ग्राहकलाई नौं दशमलव ९९ प्रतिशत ब्याजदरमा अधिकतम दुई लाख रुपैयाँसम्म डिजिटल कर्जा उपलब्ध गराउनेछ । ग्राहकले उक्त कर्जा अधिकतम ३६ महिनासम्मको किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् । यसले स्कुटर खरिद गर्दा एकैपटक ठूलो रकम भुक्तानी गर्नुपर्ने बाध्यता कम गर्दै ग्राहकलाई सहज किस्तामा भुक्तानी गर्ने विकल्प दिनेछ।

इसेवाका अनुसार नयाँ सेवामार्फत विद्युतीय स्कुटर खरिदको वित्तीय प्रक्रिया थप डिजिटल र सहज बन्नेछ । ग्राहकले इसेवा एपबाटै आवश्यक प्रक्रिया पूरा गरी वित्तीय सुविधा लिन सक्ने भएकाले परम्परागत रूपमा कर्जा लिनुपर्ने प्रक्रियामा लाग्ने समय र झन्झटसमेत कम हुने अपेक्षा गरिएको छ।

इसेवाले डिजिटल प्रविधिमार्फत वित्तीय सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले विभिन्न नवीन सेवा तथा समाधान विकास गर्दै आएको जनाएको छ । द्यल्एी सेवा पनि ग्राहकको बदलिँदो आवश्यकता र जीवनशैलीअनुसार डिजिटल माध्यमबाट वित्तीय सुविधा उपलब्ध गराउने प्रयासको निरन्तरता भएको कम्पनीको भनाइ छ । त्यस्तै, विद्युतीय स्कुटर खरिदलाई किस्ताबन्दीमा सहज बनाउने यस योजनाले विद्युतीय यातायातको प्रयोग विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । विद्युतीय सवारीसाधनको प्रयोग बढ्दा प्रदूषण न्यूनीकरण, दिगो यातायात प्रवद्र्धन तथा डिजिटल अर्थतन्त्रको विकासमा सहयोग पुग्ने कम्पनीले जनाएको छ।

इसेवा, रिलायन्स फाइनान्स र परिमिता इन्भेष्टमेन्टबीचको यो सहकार्यले डिजिटल भुक्तानी, वित्तीय सेवा र विद्युतीय यातायात क्षेत्रलाई एउटै प्लेटफर्ममा जोड्दै ग्राहकका लागि नयाँ किसिमका वित्तीय तथा खरिद सुविधा विस्तार गर्ने बाटो खोलेको छ । इसेवाले आगामी दिनमा ग्राहकको आवश्यकता र बदलिँदो जीवनशैलीलाई केन्द्रमा राखेर थप नवीन डिजिटल समाधान विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।