बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

भारी वर्षाको सम्भावनापछि स्वास्थ्य मन्त्रालयले गरायो उच्च सतर्कता

बिहिबार, असोज ८ २०८३

काठमाडौँ । सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो र डुबानलगायत विपद्जन्य अवस्था सिर्जना हुनसक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनालाई ध्यानमा राख्दै मन्त्रालयले प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान र सङ्घीय अस्पताललाई सम्भावित जोखिम न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो।

मन्त्रालयले सार्वजनिक बिदाका दिनमा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार सम्पर्कमा रहने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ। विपद् आइपरे तत्काल परिचालन हुनसक्ने गरी आवश्यक पूर्वतयारी गर्न पनि स्वास्थ्य संस्थालाई आग्रह गरिएको छ।

त्यस्तै, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई चौबिसै घण्टा सञ्चालनमा राख्न मन्त्रालयले आग्रह गरेको छ।

सम्भावित बाढी, पहिरो तथा डुबानबाट स्वास्थ्य सेवा प्रभावित हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै आवश्यक औषधि, स्वास्थ्य सामग्री तथा जनशक्तिको व्यवस्थापनसहित आपतकालीन प्रतिकार्यका लागि तयारी अवस्थामा रहन मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ।