काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको छ।
सोमबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सम्पन्न सचिवालय बैठकले कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको एमालेका उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो।
उहाँका अनुसार बैठकले आगामी केन्द्रीय कमिटी बैठकका लागि आवश्यक एजेन्डासमेत तय गरेको छ। एजेन्डामा अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन तथा अध्यक्षको राजनीतिक प्रतिवेदनलगायत विषय समावेश छन्।
पार्टीभित्र लामो समयदेखि चर्चामा रहेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनका विषयमा उपमहासचिव भट्टले कार्यदलको काम सम्पन्न भइसकेको बताए।
उनका अनुसार अब प्रतिवेदनलाई औपचारिक रूपमा केन्द्रीय कमिटीमा पेस गर्ने प्रक्रिया अघि बढेको छ।