बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

शनिबार, असोज ३ २०८३

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। संविधान दिवसका अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनलाई व्यवहारमै प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

प्रधानमन्त्री शाहले शहीदहरूको बलिदानबाट बनेको संविधानलाई सरकारको काममार्फत सार्थक बनाउने बताए। उनका अनुसार संविधान जारी भएको दिन हरेक वर्ष आउने भए पनि संविधानले परिकल्पना गरेका अधिकार, सुशासन र सामाजिक न्याय व्यवहारमा स्थापित गर्ने जिम्मेवारी सरकारकै हो।

“संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी पूर्ण प्रतिबद्ध छौँ,” उनले भने, “संविधान पूरा हुने दिन हामीले आफैँ ल्याउनुपर्छ—हरेक इमानदार निर्णयबाट, हरेक पारदर्शी नियुक्तिबाट र नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट।”

जनताले सुशासन, विकास, समृद्धि र सामाजिक न्याय चाहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सरकारका हरेक कदम नागरिकका यिनै आकाङ्क्षातर्फ केन्द्रित रहेको बताए।

उनले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी शासनलाई सरकारले राष्ट्रिय जीवनका आधारका रूपमा लिएको बताए। संविधानले विविधताबीच एकता, विभेद तथा असमानताको अन्त्य र समतामूलक समाज निर्माणको वाचा गरेको उल्लेख गर्दै उनले संविधान राम्रो भएर मात्रै नपुग्ने बताए।

“संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने त्यो कागजको खोस्टो बन्छ,” उनले भने।

प्रधानमन्त्री शाहले भ्रष्टाचार र दण्डहीनताको अन्त्य सरकारको प्राथमिकतामा रहेको बताए। सुशासनलाई विकासको अनिवार्य पूर्वसर्तका रूपमा लिँदै उनले प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनमा राजनीतिक तटस्थता तथा सरकारी र सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति गर्ने नीति अवलम्बन गरिएको जानकारी दिए।

“सुशासन नारा होइन, काम हो। हामी काम गरिरहेका छौँ,” उनले भने। संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयमार्फत राष्ट्र विकासको साझा उद्देश्य हासिल गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले सरकारले पुरानै शैलीमा मात्र काम नगर्ने बताउँदै कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई प्राथमिकतामा राखेर नवप्रवर्तन र नवउद्यममार्फत ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने बताए। डिजिटल सुशासन कार्ययोजनाअन्तर्गत राष्ट्रिय डिजिटल पूर्वाधार निर्माणलाई त्यसको आधारका रूपमा अघि बढाइने उनले बताए।

युवाले सडकबाट उठाएको सुशासनको मागलाई प्रविधिको प्रयोगमार्फत पनि सम्बोधन गरिने प्रधानमन्त्री शाहको भनाइ थियो।

यसैबीच, भोटेकोशी बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री शाहले उद्धार तथा विपद् व्यवस्थापनमा सहयोग गर्ने मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय, संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी र आम नागरिकप्रति आभार व्यक्त गरे।

नेपाल विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले विपद् आएपछि मात्र प्रतिक्रिया दिने नभई जोखिम न्यूनीकरण र पूर्वतयारीमा जोड दिने बताए। विपद्को पूर्वसूचना प्रणालीलाई सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

प्रधानमन्त्री शाहले नेपालको राजनीतिक व्यवस्था परिवर्तन र सुशासनका लागि भएका आन्दोलनमा ज्यान गुमाएका ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरे। ऐतिहासिक जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका सुशासनका अभियन्ताहरूप्रति पनि उनले श्रद्धाञ्जली व्यक्त गरे।

भोटेकोशी बाढीमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।