बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

पाँच समस्याग्रस्त सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

शुक्रबार, असोज २ २०८३

काठमाडौँ  । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीका १३५ साना बचतकर्ताको रकम फिर्ता गरेको छ।

समितिका अनुसार शिवशिखर सहकारीका ५७, कान्तिपुरका ५२, ओरियन्टल को–अपरेटिभका आठ, तुलसी बहुमुखीका नौ र आइडियल यमुना सहकारीका नौ जना बचतकर्ताको रकम फिर्ता गरिएको हो।

सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम पीडित बचतकर्तालाई फिर्ता गर्ने व्यवस्था गरेको छ। सोहीअनुसार पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको समितिले जनाएको छ।

समितिका अनुसार आगामी चरणमा पनि बचतकर्तालाई उनीहरूको बचत रकमका आधारमा वर्गीकरण गरी क्रमशः रकम फिर्ता गरिनेछ।

समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनबमोजिम फिर्ता गर्ने प्रक्रिया निरन्तर सञ्चालन भइरहेको समितिले जनाएको छ।