काठमाडौँ । कुमारी बैंक लिमिटेड पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल (पिसिएएफ) मा आबद्ध भएको छ। बैंकले जिम्मेवार बैंकिङ, जलवायु कार्य तथा आफ्ना वित्तीय गतिविधिबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन र व्यवस्थापनमा थप पारदर्शिता अपनाउने प्रतिबद्धता जनाएको छ।
पिसिएएफको सदस्य बनेसँगै बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जन मापन तथा सार्वजनिक रूपमा खुलासा गर्न पिसिएएफका विश्वव्यापी रूपमा मान्यता प्राप्त मापदण्ड र विधि प्रयोग गर्ने जनाएको छ।
यसबाट बैंकको जलवायुसम्बन्धी तथ्यांक, जोखिम व्यवस्थापन तथा दिगो वित्तसम्बन्धी अभ्यास थप सुदृढ हुने बैंकको विश्वास छ।
बैंकका सस्टेनेबल बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले पिसिएएफमा आबद्ध हुनु कुमारी बैंकको दिगोपन यात्राको महत्वपूर्ण कोशेढुंगा भएको बताए।
उनका अनुसार वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जनबारे स्पष्ट जानकारी हासिल गर्न सके जलवायु रणनीति सुदृढ बनाउन, पारदर्शिता बढाउन तथा तथ्यमा आधारित वित्तीय निर्णय लिन सहयोग पुग्नेछ।
कुमारी बैंकले दिगो वित्तका अवसर विस्तार गर्दै आफ्ना सञ्चालन तथा वित्तीय गतिविधिमा वातावरणीय र जलवायुसम्बन्धी पक्षलाई थप एकीकृत गर्ने जनाएको छ।
पिसिएएफ सन् २०१९ को सेप्टेम्बरमा स्थापना भएको विश्वव्यापी पहल हो। हाल ६ सयभन्दा बढी वित्तीय संस्था यसमा आबद्ध भइसकेका छन्। सहभागी संस्थाहरूले ऋण तथा लगानीमार्फत हुने हरितगृह ग्यास उत्सर्जन मापन र खुलासा गर्न साझा विश्वव्यापी मापदण्ड प्रयोग गर्दै आएका छन्।