ताप्लेजुङ । पाँचथरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा काठमाडौँको चित्लाङ फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै फिदिम स्पोर्टिङ क्लबले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।
टाइब्रेकरमा फिदिमका निरोज लिङ्देन, सुसन जबेगु, हितेन लिम्बू र अनिस परियारले गोल गरेका थिए । चित्लाङका मिक्सो लिम्बू, चेतन थारू र किरण सुनारले गोल गरे ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका फिदिमका गोलरक्षक मिराक खजुम म्यान अफ द म्याच घोषित भए ।
यसअघि शुक्रबार भएको पहिलो क्वार्टरफाइनलमा आयोजक ताप्लेजुङ–११ लाई २–१ गोलअन्तरले पराजित गर्दै भारतको जर्जियन युनाइटेड फुटबल क्लबले सेमिफाइनलमा स्थान बनाइसकेको छ ।
लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको प्रतियोगिता भदौ १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।
आज हुने तेस्रो क्वार्टरफाइनलमा सातदोबाटो फुटबल क्लब र साविक विजेता सलहेश युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले सात लाख दुई हजार रुपैयाँ र उपविजेताले तीन लाख ५२ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिनेछ ।
विसं २०२२ देखि विभिन्न नाममा आयोजना हुँदै आएको यो प्रतियोगिता पछिल्ला केही वर्षयता ताप्लेजुङ गोल्डकपका नाममा सञ्चालन हुँदै आएको छ ।