काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि सबै पक्षलाई संवादमा आउन अपिल गर्नुभएको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै पौडेलले पार्टीभित्रका असन्तुष्टि र विमतिलाई सडक तथा अदालतमा लैजानुभन्दा पार्टी कार्यालय सानेपामा बसेर राजनीतिक संवादमार्फत समाधान खोज्नुपर्ने बताउनुभएको हो।
मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै उहाँले कांग्रेस आफैं सजग र सुदृढ हुन नसके देश ठूलो राजनीतिक विग्रहको भुमरीमा फस्ने जोखिम रहेको बताउनुभएको छ।
पौडेलले कांग्रेसभित्रको विवाद अदालतबाट निरूपण हुने विषय नभएको उल्लेख गर्दै राजनीतिक मुद्दाको समाधान राजनीतिक संवादबाटै खोजिनुपर्नेमा जोड दिनुभएको छ।
उहाँले भन्नुभएको छ, ‘हाम्रो घरभित्रका विमतिहरूलाई सडकमा लैजाने वा अदालतको ढोका कुरेर बस्ने समय यो होइन । मलाई लाग्छ, नेपाली कांग्रेसको विवाद अदालतले निरूपण गर्ने विषय होइन र हुनुहुँदैन । राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ।’
महामन्त्री पौडेलले असन्तुष्ट नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई फरक विचारसहित पार्टीको केन्द्रीय कार्यालय सानेपा आउन आग्रह गर्नुभएको छ।
‘सबै असन्तुष्ट श्रद्धेय नेता, जुझारु कार्यकर्ता र आत्मीय शुभेच्छुक साथीहरूलाई नम्रताका साथ अनुरोध गर्न चाहन्छु कि आफ्नो फरक विचारलाई बोकेर पार्टीको साझा मन्दिर सानेपा आउनुहोस्,’ उहाँले भन्नुभएको छ।
विगतका कमजोरीमा सबैको सामूहिक जिम्मेवारी रहेको स्वीकार गर्दै पौडेलले आत्मसमीक्षासहित संवादबाट अघि बढ्नुपर्ने धारणा राख्नुभएको छ।
उहाँले आगामी १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गरी आम कार्यकर्ताले सुम्पिएको नेतृत्वलाई स्वीकार गर्नुपर्ने बताउनुभएको छ।
‘सानेपामा बसेर मनैदेखि संवाद गरौँ । विगतका कमजोरीहरूमा हामी सबैको सामूहिक जिम्मेवारी छ, त्यसलाई पनि आत्मसात् गर्दै अघि बढौँ,’ पौडेलले भन्नुभएको छ, ‘आगामी १५औँ महाधिवेशनलाई तोकिएकै समयमा सम्पन्न गरी आम कार्यकर्ताले सुम्पिने नेतृत्वलाई स्वीकार गरौँ र लोकतन्त्रलाई थप सुदृढ बनाउने बाटोमा एकजुट भएर लागौँ।’
कांग्रेसभित्रको विभाजनले लोकतन्त्र र मुलुकलाई समेत कमजोर बनाउने चेतावनी दिँदै पौडेलले समयमै गल्ती सच्याउन नसके इतिहासले क्षमा नगर्ने उल्लेख गर्नुभएको छ।
‘यस्तो बेला हामी विभिन्न बहानामा विभाजित हुनु भनेको लोकतन्त्र र देशलाई नै कमजोर बनाउनु हो,’ विज्ञप्तिमा भनिएको छ, ‘समयमै गल्ती सच्याएनौँ भने इतिहासले हामीलाई क्षमा दिने छैन।’