काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय सम्मेलनबाट पारित प्रतिवेदनप्रति आपत्ति जनाएको छ। संस्थापन पक्षले पार्टीभित्रका असहमति र विवाद आधिकारिक फोरमबाटै समाधान गर्नुपर्नेमा जोड दिएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले इतर समूहको राष्ट्रिय सम्मेलनबाट पारित निर्णयलाई पार्टीले नजिकबाट नियालिरहेको बताए ।
इतर समूहले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले १५औँ महाधिवेशन सभापति शेरबहादुर देउवाको नेतृत्वमा गर्ने प्रस्ताव गरेको भन्दै प्रवक्ता चालिसेले यस्तो व्यवस्था पार्टीको विधानले नदिने दाबी गरे ।
उनले पार्टीभित्र विवाद नभई असन्तुष्टि रहेको जिकिर गर्दै असहमति वा विवाद भए त्यसको समाधान पार्टीकै आधिकारिक फोरमबाट खोजिनुपर्ने बताए ।
पार्टीको नेतृत्व अदालतले चयन गर्ने नभई पार्टीको वैधानिक प्रक्रियाबाटै तय हुनुपर्ने उनको भनाइ थियो। विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्व चयन भएको र उक्त नेतृत्वलाई अदालत तथा निर्वाचन आयोगले समेत मान्यता दिएको उनले दाबी गरे।
प्रवक्ता चालिसेले विशेष महाधिवेशनमा असहमति रहेका विषयलाई आगामी १५औँ महाधिवेशनमा लोकप्रिय एजेण्डाका रूपमा प्रस्तुत गरेर अघि बढ्न संस्थापन इतर पक्षलाई आग्रह गर्नुभयो।
यसैबीच, कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका हेरफेर गरेको छ। सानेपामा बसेको केन्द्रीय समिति बैठकले भदौ २ गतेदेखि सुरु हुने भनिएको वडा अधिवेशनको मिति पछि सारेको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए।
असन्तुष्ट पक्षलाई समेत समेट्ने प्रयास जारी रहेकाले वडा अधिवेशन पर सारिएको उनको भनाइ छ। उहाँका अनुसार वडा अधिवेशन सुरु भएपछि असन्तुष्ट पक्षका लागि पार्टीको प्रक्रियामा सहभागी हुने बाटो बन्द हुनसक्ने भएकाले सहमतिको प्रयासलाई निरन्तरता दिइएको हो।
कार्यतालिकाका अन्य चरणमा आवश्यक हेरफेर गरिए पनि महाधिवेशनको अन्तिम मिति असोज १६ देखि १९ गतेसम्म भने यथावत् राखिएको छ। महामन्त्री पौडेलले मंसिरभित्र महाधिवेशन सम्पन्न गर्नु बाध्यकारी रहेको बताए ।
कांग्रेसले केन्द्रीय समिति बैठकबाट पारित १५ वटा निर्णयसमेत सार्वजनिक गरेको छ। आइतबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले निर्णय सार्वजनिक गरेका छन्।
केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गतेदेखि भदौ १ गतेसम्म पार्टी सभापति गगन थापाको सभापतित्वमा बसेको थियो। बैठकले मुलुकको समसामयिक राजनीतिक परिस्थिति, आर्थिक तथा सामाजिक अवस्था, जनजीवनसँग सम्बन्धित समस्या, सरकारको कार्यसम्पादन तथा शासकीय अवस्थालगायत विषयमा छलफल गरी निर्णय गरेको कांग्रेसले जनाएको छ।
त्यस्तै, पार्टी तथा भ्रातृ संस्थाको संगठनात्मक सुदृढीकरण, संविधानको कार्यान्वयन तथा आवश्यक संशोधन, निजी क्षेत्र, उत्पादन र लगानीलगायत विषयमा समेत बैठकले धारणा सार्वजनिक गरेको छ।






