बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कांग्रेस एकताको अन्तिम अवसर हो, सर्वोच्चको निस्सा : पूर्णबहादुर खड्का

सोमबार, साउन २५ २०८३

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले दिएको निस्सा कांग्रेसको सम्पूर्ण एकताका लागि ‘अन्तिम अवसर’ भएको बताएका छन् ।

खड्काले आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पार्टी सभापति गगन थापालाई एकताका लागि तत्काल निर्णायक भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।

आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले निस्सा दिएपछि पछिल्ला तीन दिनमा कांग्रेसकै नेताकार्यकर्ताबाट सामाजिक सञ्जालमा व्यक्त विचार तथा टीकाटिप्पणीले आफूलाई चिन्तित बनाएको उनले उल्लेख गरेका छन् ।

देशको राष्ट्रियता इतिहासकै प्रतिकूल र संकटापन्न अवस्थामा पुगेको तथा लोकतान्त्रिक संविधान धरापमा पार्ने षड्यन्त्र भइरहेको खड्काको दाबी छ । यस्तो अवस्थामा कांग्रेस पनि इतिहासकै कमजोर र प्रतिकूल परिस्थितिमा रहेकाले अहिलेको पहिलो आवश्यकता पार्टीको सम्पूर्ण एकता भएको उनले बताएका छन् ।

‘हामीबीच सहिष्णुता, संवेदनशीलता र सहअस्तित्वको भावना सिर्जना गरी संवाद र सहमतिमार्फत सुदृढ एकता कायम गर्नु पूर्वसर्त हो,’ खड्काले भनेका छन् ।

वर्तमानका ठूला चुनौती सामना गर्न कांग्रेसभित्र सम्पूर्ण एकता अपरिहार्य रहेको बताउँदै उनले पार्टीका जिम्मेवार नेताहरूलाई व्यक्तिगत महत्वाकांक्षा, अहंकार, घमण्ड, प्रतिशोध र कुण्ठाबाट मुक्त भएर सामूहिक भावनाका साथ अघि बढ्न आग्रह गरेका छन्।

सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरवलोकनका लागि दिएको निस्सा पार्टीको सम्पूर्ण एकताका लागि अन्तिम अवसर भएको उल्लेख गर्दै खड्काले सभापति थापालाई विशेष आग्रह गरेका छन् ।

‘तपाईं हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रपंक्तिमा अग्रसर हुनुस्, हामी अरू सबै यसका लागि सहयोगी हौं र बन्छौं,’ उनले भनेका छन् ।

पार्टी एकताका लागि वातावरण निर्माण गर्न कांग्रेस, भ्रातृ तथा शुभेच्छुक संस्थाका सबै तहका नेतासँग पनि खड्काले अपिल गरेका छन् ।

राष्ट्र रहे बहुदलीय लोकतन्त्र र पार्टी रहने उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा हुने आरोप–प्रत्यारोप, दोहोरी र गालीगलौचबाट कुनै निष्कर्षमा पुग्न नसकिने बताएका छन् । यस्तो प्रवृत्ति अन्त्य गर्न पनि उनले सबैलाई आग्रह गरेका छन् ।