आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

दुर्गा प्रसाईंसँग मिलेर ‘जय नेपाल पार्टी’ दर्ता गर्ने तयारीमा धवलशम्शेर राणा

बिहिबार, साउन २१ २०८३

काठमाडौं। ‘राजसंस्थासहितको हिन्दु अधिराज्य’का पक्षधर डा. धवलशम्शेर राणाले राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग मिलेर नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गर्ने तयारी भइरहेको बताएका छन्।

नयाँ पार्टी दर्ता, बालेन नेतृत्वको सरकार तथा समसामयिक राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकारसँगको एकल साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै राणाले नयाँ दल गठनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।

उनका अनुसार ‘जय नेपाल पार्टी’ राजसंस्थाको पुनर्स्थापना, हिन्दु राष्ट्र तथा राष्ट्रिय एकताका एजेन्डालाई केन्द्रमा राखेर अघि बढ्नेछ। पार्टी दर्ताका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने तयारी भइरहेको उनले बताए।

राणाले पछिल्लो राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै वर्तमान व्यवस्थाले जनअपेक्षा पूरा गर्न नसकेको दाबी गरे। उनले देशमा राजनीतिक अस्थिरता, आर्थिक चुनौती र सुशासनको अभाव बढ्दै गएको टिप्पणी गर्दै त्यसको विकल्पका रूपमा नयाँ राजनीतिक शक्तिको आवश्यकता रहेको बताए।

कार्यक्रममा उनले बालेन नेतृत्वको सरकारका केही निर्णय र समसामयिक राजनीतिक गतिविधिबारे पनि आफ्नो धारणा राख्दै सरकार प्रभावकारी रूपमा अघि बढ्न नसकेको आरोप लगाए।

राणाले आगामी दिनमा समान विचारधारा भएका शक्ति र अभियन्तासँग सहकार्य गर्दै ‘जय नेपाल पार्टी’लाई राष्ट्रिय राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए।