काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिकका लागि आवश्यक सहयोग र सहजीकरण गर्न स्थानीय तहलाई आग्रह गरेको छ ।
मन्त्रालयले बुधबार सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयसँग समन्वय गरी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यमा आवश्यक सहयोग गर्न आग्रह गरेको हो ।
निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली अद्यावधिक गर्ने निर्णय गरिसकेको छ । आयोगको साउन १५ गते बसेको बैठकले वडा तहबाटै मतदाता नामावली विस्तृत रूपमा अद्यावधिक गर्ने निर्णय गरेको थियो ।
आयोगका अनुसार मतदाता नामावली अद्यावधिक गर्ने क्रममा स्थानीय पञ्जिकाधिकारीसँग समन्वय गरिनेछ । यस क्रममा विवाह, बसाइँसराइ तथा मृत्यु भएका मतदाताको विवरण पञ्जिकरण अभिलेखसँग भिडाएर मतदाता नामावली अद्यावधिक गरिनेछ ।
आयोगले उक्त कार्य आगामी भदौ १५ गतेसम्म सम्पन्न गर्ने समयसीमा तोकेको छ ।
मतदाता नामावली अद्यावधिकका लागि आवश्यक व्यवस्था मिलाइदिन आयोगले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको थियो । आयोगको सोही आग्रहअनुसार मन्त्रालयले देशभरका स्थानीय तहलाई मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यमा आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न अनुरोध गरेको हो ।