काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब रुपैयाँ बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार निक्षेप सङ्कलनका लागि आज अपराह्न ३ बजेसम्म अनलाइन ‘बिडिङ सिस्टम सफ्टवेयर’ (ओबीएसएस) मार्फत बोलकबोल हुनेछ। निक्षेपको विवरण आजै निष्कासन गरिनेछ भने ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ।
सङ्कलन गरिएको निक्षेपको साँवा तथा ब्याज आगामी कात्तिक १७ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि आह्वान गरिएको कुल रकमसम्म ५ करोड रुपैयाँको गुणाङ्कमा आवेदन दिन सकिनेछ।
निक्षेप सङ्कलनको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। एउटै संस्थाले फरक–फरक ब्याजदरमा एकभन्दा बढी आवेदनसमेत पेस गर्न सक्ने व्यवस्था गरिएको छ।
बजारमा रहेको अधिक तरलता व्यवस्थापन तथा मौद्रिक व्यवस्थापनलाई प्रभावकारी बनाउन राष्ट्र बैंकले समय–समयमा निक्षेप सङ्कलन उपकरणमार्फत तरलता प्रशोचन गर्दै आएको छ।