आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बाढीपहिरो र कटानले देशका विभिन्न राजमार्ग प्रभावित

आइतबार, साउन १० २०८३

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र नदी कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले यात्रामा निस्कनुअघि सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

त्यस्तै, कान्ति लोकपथमा पनि वर्षायामभर अर्को सूचना जारी नभएसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा हिलो थुप्रिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नं. २ कोदारी क्षेत्रमा पहिरो खसेपछि अरनिको राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको छ।

यसैगरी, लामासाँघु–रामेछाप राजमार्गको केही भाग सामाकोशी खोलाले कटान गरेपछि यातायात अवरुद्ध भएको छ। हाल खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

रसुवातर्फको पासाङ ल्हामु सडकखण्डमा पहिरो खस्दा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकसमेत अवरुद्ध भएको छ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित घ्याकर खोलामा जलसतह बढेपछि जोमसोम–कोरला सडक पनि पूर्ण रूपमा बन्द भएको छ।

प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउन सडक विभाग, स्थानीय तह तथा सम्बन्धित निकायले पहिरो पन्छाउने र सडक मर्मतको काम जारी राखेका छन्। यात्रु तथा सवारी चालकलाई यात्रा अघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरिएको छ।