आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

डिभिजन प्रमुखसहित दुई कर्मचारी ८ लाख २१ हजार घुससहित पक्राउ

शनिबार, साउन ९ २०८३

जनकपुरधाम । सर्लाहीस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाकी डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी घुस लिएको आरोपमा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले शुक्रबार साँझ बागमती नगरपालिका–१२ स्थित डिभिजन प्रमुखको सरकारी क्वाटरमा छापा मार्दा सेवाग्राहीबाट लिइएको ७ लाख ५० हजार रुपैयाँ बरामद गरेको हो। उक्त रकम ढकाल बसेको सोफामै फेला परेको अख्तियारले जनाएको छ।

खानतलासीका क्रममा स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ पनि बरामद भएको अख्तियारका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए। यससँगै बरामद रकम कुल ८ लाख २१ हजार ११५ रुपैयाँ पुगेको छ।

अख्तियारका अनुसार विभिन्न जल उपभोक्ता समितिले बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि भुक्तानी लिन जाँदा डिभिजन प्रमुख ढकालले मेकानिकल अधिकृत चौधरीमार्फत घुस मागेकी थिइन्। त्यसक्रममा चौधरीले सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ बुझेर डिभिजन प्रमुखको सरकारी क्वाटरमा पुर्‍याएको आरोप छ।

घटनापछि डिभिजन प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीलाई नियन्त्रणमा लिइएको छ। उनीहरूमाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।