आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले लिए शपथ

शुक्रबार, साउन ८ २०८३

काठमाडौं । विद्युत् नियमन आयोगका नवनियुक्त अध्यक्ष र सदस्यहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिहीबार ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल तथा सदस्यहरू बलराम सिलवाल, लोकराज पाठक र जयराज भण्डारीले शपथ लिएका हुन्।

शपथग्रहणपछि ऊर्जामन्त्री श्रेष्ठले आयोगमा अनुभवी नेतृत्व आएको उल्लेख गर्दै नीतिगत तथा संस्थागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए। उनले आयोगका कामलाई प्रभावकारी बनाउन मन्त्रालयबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रममा आयोगका पदाधिकारीहरूले सरकारको सुशासनको भावना अनुरूप पारदर्शी र उत्तरदायी ढंगले काम गर्ने प्रतिबद्धता जनाएका थिए।

आयोगका अध्यक्ष डा. धितालले सरकारको सुशासनसम्बन्धी मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्दै मन्त्रालयको नीतिगत मार्गदर्शनमा नियामकीय भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने बताए। उनले विद्युत्को राष्ट्रिय खपत बढाउने तथा ऊर्जा क्षेत्रको नियमनलाई थप सुदृढ बनाउने दिशामा आयोगले काम गर्ने उल्लेख गरे।

“आयोगले मन्त्रालयको नीतिगत मार्गदर्शन र अभिभावकत्वमा समन्वय गर्दै काम गर्नेछ। हाम्रो टोलीले परिणाममुखी काम गरेर विश्वास कायम गर्नेछ,” उनले भने।

आयोगका सदस्यहरूले पनि ऊर्जा क्षेत्रमा लामो अनुभवलाई उपयोग गर्दै प्रभावकारी र नतिजामुखी कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।