काठमाडौं । सङ्घीय संसद्अन्तर्गतका तीनवटा संसदीय समितिको बैठक आज बस्दैछ। बैठकमा आगामी वार्षिक कार्ययोजना, अभिमुखीकरण कार्यक्रम तथा दक्षिणी सीमा क्षेत्रको शान्ति सुरक्षालगायत विषयमा छलफल हुने कार्यसूची रहेको छ।
सङ्घीय संसद् सचिवालयका अनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तयारीका विषयमा छलफल गरिनेछ।
विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेछ। उक्त बैठकमा अभिमुखीकरण कार्यक्रमसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ।
यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक अपराह्न २ः३० बजे बस्नेछ। बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षा अवस्थाबारे छलफल हुने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।